बीवाईडीका विद्युतीय गाडीमा अब एनसेलको कनेक्टिभिटी, आईओटी सिममार्फत इन्टरनेट सेवा

काठमाडौं । एनसेल र बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच सवारी साधनमा कनेक्टेड भेइकल सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपालमा बिक्री हुने बीवाईडीका विद्युतीय सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिनेछ। यससँगै बीवाईडीका ग्राहकले सवारी साधनमै इन्टरनेट तथा विभिन्न कनेक्टेड सेवा प्रयोग गर्न सक्नेछन्।

गाडीमा आईओटी सिम जडान भएपछि बाह्य उपकरण वा मोबाइल हटस्पटको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ। एनसेलको देशभर फैलिएको नेटवर्कमार्फत गाडीले सीधै इन्टरनेट सेवा प्राप्त गर्नेछ।

यसबाट चालक तथा यात्रुले फोन कनेक्ट नगरी गाडीको इन्फोटेनमेन्ट सिस्टममार्फत युट्युब, स्पोटिफाइ र काराओकेलगायतका अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्। त्यस्तै, बीवाईडीका इन–कार एप तथा अन्य कनेक्टेड सुविधासमेत सञ्चालन गर्न सकिनेछ।

यात्राका क्रममा रियल–टाइम जीपीएस नेभिगेसन प्रयोग गर्दा पनि कनेक्टिभिटी थप सहज र भरपर्दो हुने कम्पनीको भनाइ छ।

यो सुविधा नयाँ बीवाईडी सवारी खरिद गर्ने ग्राहकमा मात्र सीमित छैन। यसअघि बीवाईडीका गाडी खरिद गरिसकेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमार्फत आफ्नो सवारीमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन्।

कम्पनीका अनुसार आईओटी सेवाको प्लान, अवधि र शुल्क सवारी साधनको मोडल तथा ग्राहकले छनोट गर्ने सेवा प्याकेजअनुसार फरक हुनेछ।

सम्झौताका क्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो सहकार्यले बीवाईडीका सवारीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउने बताए। बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई सवारीमै प्रत्यक्ष कनेक्टिभिटी उपलब्ध हुने उनको भनाइ थियो।

त्यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा केन्द्रित रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहकको सवारी अनुभवलाई थप उन्नत बनाउने बताए। भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका इन्टेलिजेन्ट सुविधाको पूर्ण उपयोग गर्न ग्राहकलाई सहज हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *