वीरगन्जसहित चार पालिकामा साझा नगर बस चलाउने तयारी

काठमाडौं । पर्सा र बाराका चार स्थानीय तहलाई एउटै सार्वजनिक यातायात सञ्जालमा जोड्ने गरी नगर बस सेवा सञ्चालनको तयारी अघि बढाइएको छ। वीरगन्ज महानगरपालिकाको नेतृत्वमा वीरगन्जसहित जितपुरसिमरा, कलैया र परवानीपुरलाई समेटेर सेवा विस्तार गर्न लागिएको हो।

महानगरपालिकाले मङ्सिरभित्रै बस सेवा सुरु गर्ने लक्ष्य राखेर आवश्यक प्रशासनिक तथा प्राविधिक काम अघि बढाएको जनाएको छ। ग्रामीण क्षेत्र र सहायक सडकमा रहेका बस्तीलाई मुख्य सडकसँग जोड्नुका साथै चारवटै पालिकाबीचको यात्रा सहज बनाउने योजनासहित यो सेवा ल्याउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले बताएका छन्।

प्रस्तावित यातायात सेवालाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न चारवटै स्थानीय तहले संयुक्त लगानी गर्ने भएका छन्। त्यसका लागि एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष बनाउने सहमति भएको छ।

कोषमा वीरगन्ज महानगरपालिकाले सबैभन्दा बढी ४० लाख रुपैयाँ उपलब्ध गराउनेछ। त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गर्नेछन्।

नगर बस सेवाको सम्भाव्यता र सञ्चालनको ढाँचा तय गर्न चारवटै पालिकाका प्रतिनिधि सहभागी कार्यदलले अध्ययन प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ।

अब बस सेवा सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि तयार पारिनेछ। यसका लागि कार्यदललाई मङ्सिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्ने जिम्मेवारी दिइएको छ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमराका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैयाका अजय उप्रेती र परवानीपुरका कृष्णकुमार यादव सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *