एमजी विन्डसर ईभी अब ठूलो ब्याट्री प्याकमा आउने भएको छ । अटोकार इण्डियाका अनुसार एमजी इन्डियाले विन्डसर ईभीको फेसलिफ्ट मोडल ६१ किलोवाट आवरको ठूलो ब्याट्री प्याकमा ल्याउने भएको हो ।
सन् २०२४ मा सार्वजनिक हुँदा विन्डसर ईभी ३८ किलोवाट आवरको ब्याट्रीप्याकमा आएको थियो । सन् २०२५ मा भने यसमा ठूलो ५२.९ किलोवाट आवरको ब्याट्री प्याक पनि थपिएको थियो ।
नयाँ ६१ किलोवाट आवरको ब्याट्रीले हालको मोडलभन्दा बढी रेन्ज दिने सम्भावना छ । हालको मोडलमा उपलब्ध ३८ किलोवाट आवर र ५२.९ किलोवाट आवरका ब्याट्री प्याकले क्रमशः ३३२ किलोमिटर र ४४९ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।
फेसलिफ्ट मोडलमा हालको जस्तै अगाडिको एक्सलमा जडान गरिएको विद्युतीय मोटरलाई भने निरन्तरता दिइने छ । यद्यपि, यसको पावर सम्बन्धी विवरण अझै पुष्टि भएको छैन ।
कम्पनीले ३ वर्षपछि विन्डसर ईभीमा व्यापक परिवर्तन गरेर फेसलिफ्ट मोडल ल्याउन लागेको हो । कम्पनीले विन्डसरको फेसलिफ्ट मोडलमा ठूलो ब्याट्रीसँगै बाहिरी र भित्री डिजाइनमा व्यापक परिवर्तन गर्ने भएको छ ।