दोलखाको लप्ची जाने सडकमा सुक्खा पहिरो खस्दा एकको मृत्यु

दोलखाको विकट उत्तरी गाउँ लप्ची जाने सडकमा सुक्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्लाको बिगु गाउँपालिकास्थित वडा नम्बर १ को लामाबगरबाट लप्ची जाने सडकको ट्र्याक खन्ने क्रममा झरेको सुक्खा पहिरोमा परी बिगु–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको हो।

लामाबगरकै ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएकाे दोलखा प्रहरीले जनाएको छ।

उनीहरू तीनैजना लप्चेखोला जलविद्युत् आयोजनाको प्रवेश मार्ग निर्माणमा खटिएका मजदुर हुन्।

लामाबगरबाट लप्ची जाने सडकको देउरालीनजिकै सोमबार मध्याह्न पहिरो खसेको थियो।

पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र पैदल बाटो पूर्ण रूपमा अवरुद्ध छ।

प्रतिकूल मौसममा कारण हेलिकोप्टरसमेत उडाउन नसक्दा घाइतेको उद्धारमा समस्या भएको प्रशासनले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ। गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने जंगलमा दुगड ग्रुपले लामो समयदेखि पहुँचमार्ग निर्माणको काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *