बहुप्रतीक्षित मेलम्ची आयोजनाको पानी पुनः वितरण हुन थालेपछि उपत्यकामा पानीको अभावको समस्या अन्त्य हुने विश्वास पलाएको छ ।
तर, पुरानै संरचनामा वितरण गर्नुपर्ने बाध्यताले केही प्राविधिक कठिनाइ पनि आउन सक्ने जोखिम भने कायमै छ ।
उपत्यकामा करिब सात महिनापछि मेलम्चीको पानी पुनः आएको छ ।
मेलम्चीको १७ करोड लिटर पानीमध्ये उपत्यकामा सोमबार करिब १४ करोड लिटर वितरण भएको छ ।
उपत्यकामा रहेको करिब साढे दुई लाख धारामध्ये सोमबार ७० हजार धारामा पानी पुगेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार सोमबार शंखमूल, शान्तिनगर, अनामनगर, बबरमहल, न्युरोड, खुमलटार, प्रयागपोखरी, बटुकभैरव, चापागाउँ दोबाटो क्षेत्र, लगनखेल, एकान्तकुनालगायत क्षेत्रका धारामा पानी वितरण भएको छ ।
बाँकी सबै धारामा पानी पुग्न एक साता लाग्नेछ ।
‘बिजुलीजस्तो एकपटक स्विच अन गर्दा सबैतिर एकैपटक बले जसरी पानीको वितरण हुने होइन ।
ओरालो क्षेत्रमा पानी छिटो पुग्छ । उकालोमा ढिला पुग्छ ।
त्यसैले, सबैतिर मेलम्चीको पानी पुग्न अझै साता दिन लाग्ला,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हामीले चक्रपथभित्रका केही ठाउँमा बाहेक सबैतिर पुरानै वितरण सञ्जालबाट पानी वितरण गरिरहेका छौँ ।
पानीको भोलुम बढ्नेबित्तिकै हाम्रो पुरानो वितरण सञ्जालमा समस्या आउने हुनाले मर्मत गर्दै वितरण गरिरहेकाले पनि केही समय लाग्नेछ ।’
मेलम्चीबाट आएको १७ करोड लिटर पानी र केयुकेएलले विभिन्न स्रोतबाट संकलन गर्दै आएको पानी गरी अब उपत्यकामा करिब ३० करोड लिटर पानी वितरण हुने भएको छ ।
यसले उपत्यकामा पानीको अभावको समस्या अन्त्य भई फालाफाल हुने अवस्था आउने कार्कीले बताए ।
‘उपत्यकामा करिब ४० करोड लिटर पानीको माग छ । यो भनेको ३५/३६ करोड पानीको माग हो ।
हाल केयुकेएलले विभिन्न माध्यमबाट करिब १२ देखि १३ करोड लिटर पानी संकलन गरेर वितरण गरिरहेको छ । र, मेलम्चीबाट आएको १७ करोड लिटर पानी आउँछ ।
यसले गर्दा अब उपत्यकामा पानीको समस्या रहँदैन,’ कार्कीले भने ।
मेलम्चीको पानी आउन छाडेपछि केयुकेएलले भूमिगत पानीका स्रोतहरू जस्तै : बोरिङ, ट्युबेल र धाप ड्यामको पानी प्रशोधन गरेर उपत्यकावासीलाई वितरण गर्दै आएको छ ।
केयुकेएलले मंगलबार नै बैठक बसेर बुधबारदेखि नै पानी वितरण कार्यतालिकामा पनि परिवर्तन गर्ने भएको छ ।
हाल सातादेखि १० दिनमा एकपटक पानी वितरण हुने ठाउँमा एक वा दुई दिनमा पानी वितरण हुनेछ ।
एक वा दुई दिनमा चारदेखि पाँच घण्टासम्म पानी वितरण हुने केयुकेएलले जनाएको छ ।