नेपाल भित्रिए ४०० KW आवर ब्याट्री क्षमताका  इलेक्ट्रिक टिपर र ट्रक

शशिला मोटर्सले नेपालमा पहिलोपटक ४०० किलोवाट आवर ब्याट्री क्षमता भएका इलेक्ट्रिक टिपर तथा कन्टेनर ट्रक भित्र्याएको छ। शशिला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाका अनुसार चीनको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी एक्ससीएमजी (XCMG) का यी अत्याधुनिक इलेक्ट्रिक टिपर तथा ट्रक नेपाली बजारमा ल्याइएको हो।

नेपालको भौगोलिक अवस्था, सडकको बनावट र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर लामो समयको अध्ययन तथा अनुसन्धानपछि यी सवारीसाधन नेपाल ल्याइएको खतिवडाले बताएका छन्। नेपाली भूगोल र कार्यक्षेत्रअनुकूल बनाउन अनुसन्धान तथा विकास (आरएन्डडी) मा लामो समय खर्चिएको उनको भनाइ छ।

एक्ससीएमजी चीनमा लगातार पाँच वर्षदेखि इलेक्ट्रिक ट्रकिङ क्षेत्रमा नम्बर एक स्थानमा रहन सफल कम्पनी हो। कम्पनीका ४०० किलोवाट आवर ब्याट्री क्षमताका इलेक्ट्रिक टिपर तथा कन्टेनर ट्रकले नेपालको व्यावसायिक यातायात क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

यी सवारीसाधन नेपाल ल्याउने प्रक्रियामा संलग्न खतिवडाका अनुसार नेपाली बजारका लागि उपयुक्त सवारीसाधन छनोट गर्दा यहाँको भौगोलिक अवस्था, सडकको गुणस्तर, यातायात व्यवसायीको आवश्यकता र व्यावसायिक उपयोगितालाई प्राथमिकता दिइएको छ। यसअघि टाटा मोटर्सका व्यावसायिक सवारीसाधनको बिक्री–वितरण तथा बजार विस्तारमा करिब १२ वर्ष काम गरेको अनुभवलाई समेत नयाँ सवारीसाधनको छनोट र विकास प्रक्रियामा उपयोग गरिएको उनले बताएका छन्।

उनका अनुसार बस, ट्रक तथा टिपरको बिक्री–वितरणमा लामो समय काम गर्दा नेपाली व्यावसायिक सवारीसाधन बजारको आवश्यकता र चुनौतीलाई नजिकबाट बुझ्ने अवसर मिलेको थियो। त्यही अनुभवका आधारमा उच्च ब्याट्री क्षमता भएका इलेक्ट्रिक ट्रक तथा टिपर नेपाली बजारमा भित्र्याउने प्रयास गरिएको हो।

४०० किलोवाट आवर ब्याट्री क्षमता भएका इलेक्ट्रिक ट्रक तथा टिपर किन आवश्यक छन् र नेपाली सडकमा तिनको व्यावसायिक उपयोगिता कस्तो रहन्छ भन्ने प्रश्नको उत्तर आगामी दिनमा प्राप्त हुने उनको विश्वास छ।

यी सवारीसाधनको बिक्रीसँगै नेपालको व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी सिमेन्ट, निर्माण सामग्री तथा अन्य भारी सामानको ढुवानीमा इलेक्ट्रिक टिपर र ट्रकको प्रयोगले स्वच्छ तथा दिगो यातायात प्रणाली विकासमा योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *