काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को संख्या बढ्दै गएसँगै त्यसमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापनका लागि छुट्टै दर्ता तथा ट्र्याकिङ प्रणाली आवश्यक रहेको सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा बोल्दै श्रेष्ठले सवारी दर्ताका क्रममा चेसिस र मोटर नम्बर मात्र अभिलेख हुने भएकाले ब्याट्रीको समेत छुट्टै पहिचान कायम गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार प्रत्येक ईभी ब्याट्रीको आफ्नै युनिक पहिचान नम्बर हुने भएकाले त्यसलाई सवारीसाधनसँगै दर्ता गर्ने व्यवस्था आवश्यक छ । यस्तो प्रणाली लागू भएमा ब्याट्री आयातदेखि प्रयोग, पुनः प्रयोग तथा रिसाइक्लिङसम्मको अवस्थाबारे जानकारी राख्न सहज हुने उनको भनाइ छ ।
‘हाल नेपालमा ईभी दर्ता गर्दा चेसिस नम्बर र मोटर नम्बर मात्र दर्ता गर्ने गरिएको छ । ब्याट्री नम्बर दर्ता गर्ने प्रणाली छैन,’ श्रेष्ठले भने, ‘अब गाडीसँगै ब्याट्रीलाई पनि दर्ता र ट्र्याक गर्ने प्रणाली बसाल्नुपर्छ ।’
ब्याट्रीको ट्र्याकिङ प्रणालीले प्रयोगपछि जथाभावी फालिने वा कबाडमा जाने जोखिमसमेत घटाउन सक्ने उनले बताए । साथै, कुन ब्याट्री कसले आयात गरेको हो र त्यसको अवस्था के छ भन्ने विवरणसमेत सजिलै पहिचान गर्न सकिने उनको भनाइ छ ।
पुराना ब्याट्री रिसाइक्लिङका लागि विदेश पठाउँदा देखिने कागजी प्रक्रियासम्बन्धी समस्या समाधान गर्न पनि युनिक पहिचान नम्बर उपयोगी हुने श्रेष्ठले बताए । उनका अनुसार ट्र्याकिङ प्रणालीमार्फत ब्याट्री कहाँबाट आएको हो भन्ने स्पष्ट हुने भएकाले सरकारलाई आवश्यक कागजी प्रक्रिया र नियमन व्यवस्थापन गर्न सहज हुनेछ ।
ब्याट्री विदेश पठाउँदा कर तथा अन्य कानुनी जटिलता आउन नदिन त्यसलाई व्यावसायिक निर्यातभन्दा पुनः प्रयोग वा रिसाइक्लिङका लागि फिर्ता पठाइने वस्तुका रूपमा परिभाषित गर्नुपर्ने उनको सुझाव छ ।
श्रेष्ठले नेपालमा ईभी आयात सुरु भएको लामो समय भइसके पनि आयातका लागि न्यूनतम मापदण्ड र लाइसेन्सिङसम्बन्धी व्यवस्थित निर्देशिका अझै बन्न नसकेको बताए । यद्यपि, अहिले यसको मस्यौदा तयार गर्ने काम भइरहेको उनले जानकारी दिए ।
ईभी आयातसम्बन्धी नयाँ व्यवस्थामा विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) फ्रेमवर्कलाई समेत समेट्नुपर्नेमा उनले जोड दिए । उत्पादक तथा आयातकर्तालाई सवारीसाधन र त्यसमा प्रयोग हुने ब्याट्रीको जीवनचक्र व्यवस्थापनप्रति जिम्मेवार बनाउने गरी नीति आवश्यक रहेको उनको भनाइ छ ।
सरकारले हालै ल्याएको नयाँ यातायात नीतिले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा जोड दिएको उल्लेख गर्दै श्रेष्ठले ईभी ब्याट्रीको ‘इन्ड अफ लाइफ’ व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपालमा ईभीको प्रयोग बढ्दै गएकाले ब्याट्री व्यवस्थापनको इकोसिस्टम निर्माण गर्ने यो उपयुक्त समय भएको उनको भनाइ छ ।