काठमाडौं । नेपाली अटोमोबाइल बजारमा प्रिमियम तथा वातावरणमैत्री सवारीसाधनको आकर्षण बढ्दै गएको देखिएको छ । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा १ करोडदेखि करिब ३ करोड रुपैयाँसम्मका हाइब्रिड तथा एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक एसयूभी सार्वजनिक भएसँगै बजारमा प्रिमियम सवारीको विकल्प थपिएको हो ।
एक्स्पोमा बीवाईडी डेन्जा बी५, आइकार भी२७, टोयोटा ¥याभ४, बीएआइसी बीजे३०ई र एमजी एचएसजस्ता हाइब्रिड एसयूभी मुख्य आकर्षण बनेका छन् ।
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले डेन्जा बी५ को बिक्री २ करोड ९७ लाख रुपैयाँमा सुरु गरेको छ । १.५ लिटर टर्बो इन्जिन र ३१.८ किलोवाटआवर ब्याट्री रहेको यस अल–ह्विल ड्राइभ एसयूभीले ४२५ किलोवाट संयुक्त पावर उत्पादन गर्छ । फुल ट्याङ्की र ब्याट्रीमा यसले ८५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
एसपीजी अटोमोबाइल्सले नेपालकै पहिलो ईआरईभी प्रविधिको आइकार भी२७ सार्वजनिक गरेको छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाटआवर ब्याट्री रहेको यस एसयूभीको मूल्य १ करोड ८० लाख रुपैयाँ तोकिएको छ । यसले प्योर ईभी मोडमा २१० किलोमिटर र इन्धनसहित करिब १ हजार २०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
युनाइटेड ट्रेडर्स सिण्डिकेटले छैटौं पुस्ताको टोयोटा ¥याभ४ हाइब्रिड २ करोड १३ लाख रुपैयाँमा सार्वजनिक गरेको छ । २.५ लिटर इन्जिनयुक्त यो सेल्फ–चार्जिङ हाइब्रिडले २४० पीएस संयुक्त पावर उत्पादन गर्छ ।
त्यस्तै, लक्ष्मी ग्रुपले बीएआइसी बीजे३०ई हाइब्रिड एसयूभी १ करोड १९ लाख ९६ हजार रुपैयाँमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार ५१ लिटर पेट्रोलमा यसले १ हजार किलोमिटरसम्म रेन्ज दिन सक्छ ।
एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले एमजी एचएसको हाइब्रिड र प्लग–इन हाइब्रिड दुवै संस्करण सार्वजनिक गरेको छ । एचएस प्लग–इन हाइब्रिडको मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ र हाइब्रिडको १ करोड १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पोको अवसरमा दुवै मोडलमा ३ लाख रुपैयाँ छुटसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यी नयाँ मोडलहरूले नेपाली बजारमा विद्युतीय सवारीसँगै हाइब्रिड तथा ईआरईभी प्रविधिप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेका छन् । विशेषगरी लामो दूरीको यात्रामा रेन्जको चिन्ता कम गर्ने तथा पेट्रोल र विद्युतीय प्रविधिको संयोजनले प्रिमियम एसयूभी बजारमा नयाँ विकल्प थपेको छ ।