भगवान गौतम बुद्धको जन्मस्थल पवित्र लुम्बिनी प्रवेशद्वार सिद्धार्थनगरस्थित मुख्य कार्यालय रहेको ट्रक व्यवसायीहरूको मातृ संस्था लुम्बिनी ट्रक यातायात व्यवसायी संघले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–४, बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।
आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद खरेल र वर्तमान अध्यक्ष रुमाखर गौतम लगायतले आफ्ना भनाइका साथ शुभकामना मन्तव्य राख्दै स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजसेवामूलक कार्यमार्फत मनाउनु संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
वक्ताहरूले समाजका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता समेत जनाएका थिए ।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा आश्रमका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । खाद्यान्न सामाग्री हस्तान्तरणसंगै आश्रममा रहेका ज्येष्ठ नागरिकसँग आत्मीय भेटघाटसमेत गरिएको थियो ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघले आफ्नो स्थापनाकाल देखि नै व्यवसायीहरूको हकहित संरक्षणसँगै विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।