बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन, रुपन्देही–लुम्बिनीले आफ्नो ३१ औं स्थापना दिवस (बार्षिकोत्सव) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
उक्त अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ ।
गत साउन ४ गते सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष प्रेम गौचनको अध्यक्षता तथा संस्थापक अध्यक्ष खड्गबहादुर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष जनार्दन गैरे, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सेक्टर समितिका संयोजक तथा सह–संयोजकहरू, अटो व्यवसायी तथा अन्य आमन्त्रित महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउँदै १०५ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ साथै, कार्यक्रममा मधुमेह परीक्षण सेवा पनि सञ्चालन गरिएको थियो ।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहकार्य तथा सक्रिय सहभागिता जनाउने प्रमुख अतिथि, अतिथिगण, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, रक्तदाता महानुभावहरू, स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण सहयोगीप्रति बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन, रुपन्देही–लुम्बिनीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समाजप्रति आफ्नो उत्तरदायित्वलाई थप प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।