हुन्डाईको नयाँ सस्तो ईभी ‘आयोनिक पी’ २०२७ मा सार्वजनिक हुने

हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै उत्पादन गर्न लागेको नयाँ सानो इलेक्ट्रिक एसयूभी ‘आयोनिक पी’ नाममा लन्च  हुने अनुमान गरिएको छ । कम्पनीले यसलाई आफ्नो आयोनिक सिरिजअन्तर्गतको सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा ल्याउने तयारी गरेको हो ।

हुन्डाईको नयाँ ईभीलाई यसअघि कोडनेम ‘एचई१आई’ दिइएको थियो । अक्टोबर २९ मा सम्पन्न सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय समीक्षाका क्रममा कम्पनीका व्यवस्थापन अधिकारीहरूले आयोनिक पी नाम उल्लेख गरेका थिए । यद्यपि, हुन्डाई मोटर इन्डियाले यसको आधिकारिक नाम भने घोषणा गरिसकेको छैन ।

यो ईभी सन् २०२७ को जनवरीमा भारतीय बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०२६ को अन्त्यसम्म सार्वजनिक गर्ने तयारी भए पनि यसको समय केही पछाडि सरेको हो ।

आयोनिक पी हुन्डाईको ई–जीएमपी (के) प्लेटफर्ममा आधारित हुने बताइएको छ । यही प्लेटफर्म अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन्डाई इन्स्टर ईभीमा पनि प्रयोग गरिएको छ । नयाँ कारमा स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई ब्याट्री विकल्प उपलब्ध हुने सम्भावना छ ।

इन्स्टर ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री विकल्प छन् । यसले डब्लूएलटीपी परीक्षणअनुसार एकपटकको फुल चार्जमा अधिकतम ३५५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । यद्यपि, आयोनिक पीको ब्याट्री क्षमता र रेन्जबारे कम्पनीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

फिचरतर्फ नयाँ ईभीमा नेक्स्ट जेनेरेसन इन्फोटेन्मेन्ट सिस्टम र लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध हुने अपेक्षा गरिएको छ ।

भारतमा सस्तो इलेक्ट्रिक कारको माग बढ्दै गएको अवस्थामा हुन्डाईले यस मोडलमार्फत आफ्नो ईभी बजार हिस्सा विस्तार गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *