टोयोटाको नयाँ हाइब्रिड इन्जिन तयार

टोयोटाले हाइब्रिड र प्लगइन हाइब्रिड कारहरूमा प्रयोग गर्न नयाँ पुस्ताको १.५ लिटर पेट्रोल इन्जिन निर्माण गरेको छ । कम्पनीले नयाँ इन्जिन नेचुरली एस्पिरेटेड र टर्बोचार्ज्ड दुवै विकल्पमा ल्याएको हो ।

नयाँ मोड्युलर फोर सिलिण्डर इन्जिनको रूपमा विकास गरिएको छ । कम्पनीले अहिले प्रयोग गरिरहेको १.५ लिटर र १.८ लिटर इन्जिनभन्दा साइजमा यो निकै सानो हुने टोयोटाले जनाएको छ ।

बढ्दो विद्युतीकरणलाई ध्यानमा राखेर विकास गरिएको नयाँ इन्जिनलाई टोयोटाले नयाँ हाइब्रिड सिस्टम र पावर इलेक्ट्रोनिक्ससँग एकीकृत रूपमा तयार पारेको हो । यसले इन्जिन, इलेक्ट्रिक मोटर र पावर कन्ट्रोल युनिट बीच सहकार्य गर्दै माइलेज बढाउने टोयोटाको दाबी छ ।

कम्पनीका अनुसार नयाँ प्रविधिबाट इन्धन खपत १५ प्रतिशतभन्दा बढी घट्नेछ । मेकानिकल फ्रिक्सन कम गर्ने, थर्मल म्यानेजमेन्ट सुधार गर्ने र विद्युतीय प्रणालीमा हुने ऊर्जा क्षति कम गर्दै माइलेज वृद्धि हुनेछ ।

टोयोटाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेर विकास गरिरहेको नयाँ ‘मल्टी–पाथवे’ आर्किटेक्चरमा हाइब्रिड र प्लगइन हाइब्रिड पावरट्रेनसमेत समायोजन गर्न सकिने भएकोले यी इन्जिन उपयोगी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *