चीनले सोडियम आयन ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्न कर छुट दिने नीति लागू गर्ने भएको छ । लिथियम आयन ब्याट्रीमा कर लगाउन थालेको चीनले सोडियम आयन, सोलिड स्टेट र फ्युल सेल ब्याट्रीलाई सन् २०२८ को अन्त्यसम्म उपभोग करबाट छुट दिने जनाएको हो ।
चीनको नयाँ नीतिअनुसार सन् २०२६ सेप्टेम्बर १ देखि लिथियम आयन ब्याट्रीमा २ प्रतिशत उपभोग कर लगाउन सुरु गरेको छ । सन् २०२७ सेप्टेम्बर १ देखि उक्त कर बढेर ४ प्रतिशत पुग्नेछ । तर, सोडियम आयन ब्याट्रीले सन् २०२८ डिसेम्बर ३१ सम्म कर छुट पाउनेछन् । यस्तो छुटका लागि सम्बन्धित ब्याट्रीले राष्ट्रिय मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।
यसैबीच, चिनियाँ ब्याट्री निर्माता हाइनाले वुहानमा वार्षिक १० गिगावाट आवर क्षमताको सोडियम आयन ब्याट्री उत्पादन उद्योग स्थापना गर्ने योजना बनाएको छ । परियोजनाको पहिलो चरणमा ३ गिगावाट आवर क्षमताको उद्योग निर्माण हुनेछ । सन् २०२७ को सुरुवातमा निर्माण थालेर सोही वर्षको अन्त्यसम्म उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीले चेङ्ली स्पेसल अटोमोबाइल ग्रुपसँग सहकार्य गरी सोडियम आयन ब्याट्रीबाट चल्ने फोहोर संकलन गर्ने ट्रक, पानी छर्कने ट्रक तथा अन्य विद्युतीय विशेष प्रयोजनका सवारीसाधन विकास गर्ने योजना पनि बनाएको छ ।
सोडियम आयन ब्याट्रीमा लिथियमको तुलनामा कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुने भएपनि यसको ऊर्जा घनत्व तुलनात्मक रूपमा कम हुनु र उत्पादन लागत प्रतिस्पर्धी बनाउनु अझै चुनौतीपूर्ण देखिएको छ ।