काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढेपछि कोशी ब्यारेजका २० वटा ढोका खोलिएका छन्। नदीमा जलप्रवाह बढ्दै गएसँगै सुनसरी प्रशासनले सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको छ।
हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५६ हजार ६१० क्युसेक पुगेको छ। कोशीमा जलप्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रचलन रहेको छ।
बढ्दो जलप्रवाहको अवस्थाबारे जानकारी लिन सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरूले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन्।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जानकारी दिए। उनका अनुसार बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबै निकायको जिम्मेवारी निर्धारण गरिसकिएको छ भने आवश्यक कार्यविधिसमेत तयार पारिएको छ।
बर्खायाममा उद्धार, राहत वितरण, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको उनले बताए।
त्यस्तै, कोशी ब्यारेजको पुल र जोखिममा रहेका तटबन्धको मर्मतसम्भार सम्पन्न भइसकेको जनाइएको छ। यदि ठूलो बाढीका कारण कतै कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकायलाई तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।