काठमाडौँ । तीन दिनको अवरोधपछि सञ्चालनमा आएको नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका खुलेको एक दिन नबित्दै पुनः बन्द भएको छ। बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको नाका शुक्रबार बिहान इको क्षेत्रमा सडक बगेपछि फेरि अवरुद्ध भएको हो।
सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै डाक्लाङ र इको क्षेत्रमा सडक भासिएपछि कोदारी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो। मर्मतपछि बिहीबार साँझदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएसँगै चीनबाट मालवाहक कन्टेनर नेपाल भित्रिन थालेका थिए।
तर रातभर परेको अविरल वर्षाले इको क्षेत्रमा माथिबाट आएको खोल्साको भेलले सडक बगाएपछि ढुवानी फेरि ठप्प भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले जानकारी दिए।
उनका अनुसार सडक खुलेपछि चीनतर्फ रोकिएका कन्टेनर नेपाल प्रवेश गर्न थालेका थिए। अवरोधका कारण चीनबाट स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामग्री तथा विभिन्न उपकरण बोकेका करिब १५० वटा कन्टेनर कोदारी नाका पार गर्ने प्रतीक्षामा थिए। तीमध्ये हालसम्म २० वटा कन्टेनर मात्र नेपाल प्रवेश गर्न सफल भएका छन् भने अधिकांश अझै पहिरो प्रभावित क्षेत्रपारि रोकिएका छन्।
यस्तै, न्यालमलगायत चीनका विभिन्न स्थानमा करोडौं रुपैयाँ बराबरका सामग्री लोड गरिएका ४५ भन्दा बढी कन्टेनर पनि अघि बढ्न सकेका छैनन्। सडक पुनः बन्द भएसँगै नेपालतर्फ आउँदै गरेका कन्टेनर बाटोमै रोकिएका छन्।
बारम्बारको अवरोधले व्यवसायी चिन्तित बनेका छन्। हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले वर्षेनी दोहोरिने सडक अवरोधका कारण धेरै स्याउ बोकेका कन्टेनर केरुङ नाकातर्फ मोड्नुपरेको बताए।
उनले विगतका वर्षझैँ ढुवानीमा ढिलाइ हुँदा कन्टेनरमै फलफूल कुहिने अवस्था दोहोरिने चिन्ता व्यक्त गर्दै यस्तो समस्या समाधानतर्फ सरकारले दीर्घकालीन पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
स्थानीयका अनुसार इको पहिरो क्षेत्रमाथि करिब १७५ घरधुरी रहेको तथा तलतिर भोटेकोशी नदीले निरन्तर कटान गरिरहेकाले उक्त सडकखण्डको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।