उत्पादन चरणमा प्रवेश गर्दै महिन्द्रा ‘भिजन एस’

भारतीय अटोमोबाइल कम्पनी महिन्द्राको ‘भिजन एस’ चाँडै उत्पादन चरणमा प्रवेश गर्ने तयारीमा रहेको छ । कम्पनीले भारतमा आधिकारिक रूपमा ‘भिजन एस’को डिजाइनको पेटेन्ट दर्ता गरेसँगै चाँडै उत्पादन थाल्ने सम्भावना बढेको हो ।

महिन्द्राले १५ अगस्ट २०२५ मा आफ्नो बहुप्रतीक्षित ‘एनयू आइक्यू’ प्लेटफर्म सार्वजनिक गर्दै चार नयाँ कन्सेन्ट सार्वजनिक गरेको थियो । तीमध्ये भिजन एक्स, टी र एक्सटीको यसअघि नै प्याटेन्ट दर्ता भइसकेको थियो भने अहिले भिजन एसको दर्ता गरेको हो ।

महिन्द्राले आधिकारिक रूपमा नबताए पनि यसको व्यावसायिक उत्पादन सन् २०२७ देखि सुरू हुने सम्भावना छ । एनयू आइक्यू प्लेटफर्म भएकाले भिजन एस पनि पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक गरी चारवटै पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ ।

पेटेन्ट अनुसार भिजन एसको धेरैजसो विशेषताहरू कन्सेप्ट मोडलमा देखिएकै जस्ता छन् । यद्यपि, भेरियन्ट अनुसार उत्पादन मोडलमा केही खास विशेषता र एसेसरिजहरू फरक हुन सक्नेछन्।

यसको बाहिरी डिजाइन बक्सी र ल्याडर फ्रेमबाट प्रेरित अफरोड लुक भएको हुनेछ । यसमा लिम्ब राइजर, अगाडिको सहायक बत्ती, छतमा राखिने भर्याङ र युटिलिटी र्याकहरू समावेश छन् ।

साइड प्रोफाइलमा बाहिर निस्किएका वर्गाकार ह्विल आर्किहरू, बडी क्ल्याडिङ, फ्लस फिटिङ डोर ह्याण्डल र फिनिसिङ गरिएका झ्यालका फ्रेमहरू छन् । यो एसयूभीको अग्लो भएकाले सामान्यतया ४ मिटरभन्दा साना सेग्मेन्टमा देखिने गाडीको तुलनामा यसमा भित्री ठाउँ राम्रो हुन सक्छ ।

यसको बेल्टलाइन र रुफलाइन धेरैजसो समतल देखिन्छन् । पछाडिको भागमा मुख्य आकर्षणका रूपमा स्पेयर टायर, समतल पछाडिको ढोका र बाक्लो बम्पर रहेका छन्।

एसयूभीमा जोडिएको ढाँचामा ठाडो रूपमा राखिएका पछाडिका बत्तीहरू हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *