ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले आफ्नो लोकप्रिय एसयूभी भेलारको विद्युतीय संस्करण निर्माणमा काम अघि बढाएको छ।
हालै यसको प्रोटोटाइप मोडल सडक परीक्षणका क्रममा क्यामोफ्लाज ढाकेर देखिएको छ।
बेलायती लक्जरी कार निर्माता जेएलआरले २०२४ देखि ज्यागुअर ब्रान्डअन्तर्गत पेट्रोल, डिजेल र हाइब्रिड गाडी उत्पादन बन्द गरेको थियो।
कम्पनीले २०२६ देखि पुनः उत्पादन सुरु गर्दै सबै नयाँ गाडी पूर्ण विद्युतीय बनाउने योजना सार्वजनिक गरिसकेको छ।
नयाँ भेलार ईभी आकर्षक र आधुनिक डिजाइनमा आउने तयारीमा छ। यसको डिजाइन टाटा मोटर्सको विद्युतीय कन्सेप्ट ‘अभिन्या’सँग मिल्दोजुल्दो देखिएको चर्चा छ।
टाटा मोटर्सले दुई वर्षअघि अभिन्या ईभीको कन्सेप्ट सार्वजनिक गरेको थियो र २०२६ भित्र बजारमा ल्याउने योजना बनाएको छ।
उल्लेखनीय कुरा के भने जेएलआर पूर्ण रूपमा टाटा मोटर्सकै स्वामित्वमा रहेको छ र दुवै कम्पनीबीच प्रविधि साझेदारी हुँदै आएको छ।
डिजाइनका हिसाबले नयाँ भेलार ईभी हालको इन्धन मोडलभन्दा धेरै फरक र फ्युचरिस्टिक देखिएको छ।
यसको बडी लो–स्लङ शैलीमा रहेको छ, जसले स्पोर्टब्याक वा क्रसओभर झल्को दिन्छ।
पछाडिको भाग र छतको ढल्काइ अभिन्यासँग मिल्दोजुल्दो देखिनु प्राविधिक सहकार्यकै परिणाम हुन सक्ने अनुमान गरिएको छ।
यसमा फ्लस डोर ह्यान्डल, पातला एलईडी हेडल्याम्प र ठूला एलोय ह्वील जस्ता विशेषता रहनेछन्।
नयाँ भेलार ईभी जेएलआरको इलेक्ट्रिफाइड मोडुलर आर्किटेक्चर (ईएमए) प्लेटफर्ममा आधारित हुनेछ, जुन प्लेटफर्म टाटाको अभिन्या सिरिजमा पनि प्रयोग हुने बताइएको छ। यसले ब्याट्री र मोटर प्रविधिमा समानता ल्याउने सम्भावना छ।
क्याबिनमा न्यून बटन राखिनेछ र अधिकांश नियन्त्रण टचस्क्रिनमार्फत हुनेछ।
नयाँ ‘पीभी प्रो’ इन्फोटेनमेन्ट सिस्टम, ठूलो प्यानोरामिक सनरुफ र उन्नत ड्राइभर असिस्टेन्स सिस्टम यसका प्रमुख फिचर हुनेछन्।
बजारमा आएपछि भेलार ईभीले पोर्सा, बीएमडब्लू र मर्सिडिजजस्ता ब्रान्डका विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
यो मोडल २०२६ को अन्त्यसम्म विश्व बजारमा सार्वजनिक हुन सक्ने अनुमान छ।
Post Views: 54