ढोरपाटन–तकसेरा सडक जोडियो

बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ अब सिधै सडकमार्फत जोडिएका छन्।

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा गाउँसम्म सडक पुगेको हो।

दुवै जिल्लाबाट सडक निर्माण भइरहेको क्रममा निसेलढोर नजिकको मनिमर्फेस क्षेत्रमा सडक जोडिएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए।

ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति पाएपछि लामो समयदेखि रोकिएको काम सम्पन्न भएको उनले बताए।

यस सडक सञ्चालनमा आएपछि पश्चिम बागलुङ र पूर्वी रुकुमबीचको यात्रा समय छोटिएको छ।

यसअघि बुर्तिबाङ बजारदेखि निसेलढोरसम्म सडक पुगेको भए पनि त्यसभन्दा माथि विस्तार हुन सकेको थिएन।

बुर्तिबाङ–ढोरपाटन दूरी ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको जनाइएको छ।

अब बुर्तिबाङबाट ६८ किलोमिटर यात्रा गरेपछि सिधै तकसेरा पुग्न सकिनेछ।

यसअघि स्थानीयवासीले मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो बाटो प्रयोग गर्नुपर्थ्यो। नयाँ सडक खुलेपछि दूरी र समय दुवै घटेको छ।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले धेरै वर्षको प्रयासपछि सडक जोड्न सफल भएको बताए।

सिकार आरक्षको अनुमति नहुँदा काम रोकिएको थियो।

चालु आर्थिक वर्षमा निसेलढोरतर्फ ट्र्याक खोल्न १२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको थियो र सोही रकमबाट काम सम्पन्न गरिएको हो।

अब स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन र पोखरा तथा काठमाडौं पुग्न सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *