पोखरामा छैटौँ अन्तर्राष्ट्रिय उडान: सञ्चालनको २२ महिना पूरा हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खर छैटौँ चार्टर उडान भएको छ ।
विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि आफ्नो दोस्रो तथा विमानस्थलमा छैटौँ उडान गरेको हो ।
यसअघि ६ असार ०८० मा सिचुवानले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।
कुनमिङ विमानस्थलबाट आएको सिचुवानको एयर बस ३१९ बिहीबार दिउँसो १४:०० बजे पोखरामा अवतरण गरेको थियो ।
चालक दलबाहेक एक सय २० जना यात्रु लिएर आएको सो विमान १५:४० बजे पोखराबाट काठमाडाैँका लागि उडेको विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् ।
२४ कात्तिकमा पोखरामा हुने तेस्रो संस्करणको ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता’मा सहभागी हुन आएका हुन् ।
विमानस्थल सञ्चालनमा आएको आठ महिना सात दिन अर्थात् २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
२२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए ।
सो दुई विमानले भूकम्पप्रभावितलाई राहत लिएर आएका थिए ।
यसैगरी ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले पोखरामा चार्टर उडान गरेको थियो ।
Visit homepage : eautonepal.com