एनपीएलका उत्कृष्ट खेलाडीलाई अवार्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा विधागत विजेताहरू पनि घोषणा भएका छन्। चितवन राइनोजका तीव्रगतिका बलर रिजन ढकाल प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्।
प्रतियोगिताभर १७ विकेट हात पारेका ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको अवार्डसँगै जेइको जे५प्रो कार जितेका छन्। उत्कृष्ट बलरको उपाधि पनि आफ्नै नाममा पारेका उनले थप पुरस्कारस्वरूप बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।


यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताको ‘प्लेयर अफ दी टुर्नामेन्ट’ अवार्ड जितेका छन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिएका उनले तीन अर्धशतकको मद्दतमा २१८ रन बनाउनुका साथै ६ विकेट लिएका थिए। उक्त उपलब्धिका लागि उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाएका छन्।

व्यक्तिगत प्रदर्शनका आधारमा अन्य खेलाडीले पनि विभिन्न विधाका अवार्ड हात पारेका छन्। चितवन राइनोजका श्रीलंकाली खेलाडी कमिल मिसाराले ‘रेड बुल इनर्जेटिक प्लेयर’ को उपाधि जित्दै दुई लाख रुपैयाँ प्राप्त गरे।

विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको उत्कृष्ट ब्याटर बनेका छन्। उनले प्रतियोगितामा कुल २४२ रन बनाएका थिए। उत्कृष्ट ब्याटरको उपाधिसँगै उनले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले ‘इमर्जिङ प्लेयर’ को अवार्ड आफ्नो नाममा पारे। यससँगै उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरेका छन्। फाइनलमा सुदूरपश्चिम रोयल्सका लागि योगदान गरेका जर्ज मुन्से ‘प्लेयर अफ दी म्याच’ घोषित भए। प्रतियोगितामा खेलभावना प्रदर्शन गरेको भन्दै उपविजेता लुम्बिनी लायन्सलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिएको छ।

गत कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको थियो। फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिमले उपाधि उचालेको हो।

च्याम्पियन बनेसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको लुम्बिनीले ८० लाख रुपैयाँ पाउँदा तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो स्थानको काठमाडौंले ३० लाख रुपैयाँ पुरस्कार पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *