पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार गर्न ५१ कम्पनी इच्छुक देखिएका छन्। ७० किलोमिटर सडक खण्डलाई ३ प्याकेजमा विभाजन गरेर स्तरोन्नतिका लागि आह्वान गरिएको ठेक्कामा ५१ निर्माण व्यवसायीले प्रस्ताव पेस गरेका हुन्।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का अनुसार टेन्डर हाल्ने अधिकांश कम्पनी चिनियाँ र भारतीय छन्। तीमध्ये केहीले स्वदेशी निर्माण व्यवसायीसँग जेभी (ज्वाइन्ट भेन्चर) मा प्रस्ताव पेस गरेका छन्।
पहिलो प्याकेज मकवानपुर जिल्लाभित्र पर्ने ४० किलोमिटर, मकवानुपर सीमादेखि चितवनको टिकौलीसम्मको २६ किलोमिटर दोस्रो र टिकौलीदेखि गोन्द्राङसम्मको चार किलोमिटर खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार प्याकेज १ मा १६, प्याकेज २ मा १७ र प्याकेज ३ मा १८ वटा निर्माण कम्पनीले आवेदन दिएका छन्।
हाल निर्देशनालयले निर्माण कम्पनीहरुले पेस गरेको प्राविधिक प्रस्तावको मूल्यांकन गरिरहेको छ। प्राविधिक मूल्यांकन सक्न तीनदेखि चार महिना लाग्ने निर्देशक ढकालले जानकारी दिए।
‘हामी अहिले प्राविधिक प्रस्तावको मूल्यांकन गर्ने चरणमा छौँ। ठूलो संख्यामा प्रस्ताव पेस भएको र निर्देशनालयमा कर्मचारीहरु हेरफेर भएकाले भर्खर मूल्यांकन सुरु गरेका छौँ। सकेसम्म छिट्टै प्राविधिक मूल्यांकन सकेर ठेक्का प्रक्रिया अघि बढाउनेछौँ,’ ढकालले भने।
यो सडक खण्ड एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा स्तरोन्नति हुन लागेको हो। यो सडक खण्डसँगै पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिङ र कर्णाली राजमार्ग सुधारका लागि ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर (करिब ४७ अर्ब रुपैयाँ) बराबरको वित्तीय सहायता उपलब्ध गराउनेछ।
नारायणगढ–हेटौँडा सडक खण्डका लागि मात्रै २४ करोड ५० लाख रुपैयाँ ऋा उपलब्ध हुनेछ। एडीबीले उक्त वित्तीय सहायता स्वीकृत गरिसकेको छ। यसका लागि अर्थ मन्त्रालय र एडीबीबीच ऋणका लागि साझेदारी पत्रमा हस्ताक्षर हुन मात्र बाँकी छ।