ईयूले चिनियाँ हाइब्रिड गाडीको आयातमा लगायो कडा सीमा, २०० दिनमा १ लाख ९१ हजार मात्रै भित्र्याउन पाइने

युरोपेली संघ (ईयू) ले चीनबाट आयात हुने हाइब्रिड गाडीको संख्यामा कडाइ गरेको छ । डिसेम्बर १ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार आगामी २०० दिनमा चीनबाट बढीमा १ लाख ९१ हजार ७८० वटा हाइब्रिड गाडी मात्रै ईयूका सदस्य राष्ट्रमा प्रवेश गर्न पाउनेछन् । चीनका लागि तोकिएको यो सीमा वार्षिक रूपमा करिब ३ लाख ५० हजार गाडी बराबर हो । जुन सन् २०२६ मा चीनबाट ईयूमा आयात हुने अनुमान गरिएको कुल संख्याको झन्डै आधा हो ।

नोभेम्बर २४ मा ईयूको आधिकारिक राजपत्रमा प्रकाशित नियमावलीले चीनका लागि तोकिएको आयात कोटालाई तीन चरणमा विभाजन गरेको छ । पहिलो चरणमा सन् २०२६ डिसेम्बर १ देखि २०२७ फेब्रुअरी २८ सम्म ८६ हजार ३०१ वटा गाडी आयात गर्न पाइनेछ । दोस्रो चरण अर्थात् मार्च १ देखि मे ३१ सम्मका लागि ८८ हजार २१९ वटा र तेस्रो चरणमा जुन १ देखि १८ सम्मका लागि १७ हजार २६० वटा गाडीको सीमा निर्धारण गरिएको छ ।

नियमअनुसार कुनै अवधिमा तोकिएको कोटाअन्तर्गत सबै गाडी आयात नभए बाँकी संख्या अर्को अवधिमा थप गर्न सकिनेछ । तर, सम्बन्धित अवधिका लागि उपलब्ध कोटा सकिएपछि थप गाडी आयात गर्न पाइने छैन । यसले चिनियाँ हाइब्रिड गाडीको युरोपेली बजार प्रवेशलाई निश्चित सीमाभित्र राख्नेछ ।

नयाँ व्यवस्था चालकसहित बढीमा नौ जना यात्रु बोक्न सक्ने नयाँ यात्रुवाहक गाडीमा लागू हुनेछ । पेट्रोल वा डिजेलजस्ता इन्धनबाट चल्ने इन्जिनसँगै विद्युतीय मोटरसमेत प्रयोग गर्ने सबै प्रकारका हाइब्रिड गाडी यसमा समेटिएका छन् । प्लग–इन हाइब्रिड, फुल हाइब्रिड तथा गाडीको गतिमा विद्युतीय मोटरले सहयोग गर्ने माइल्ड हाइब्रिड मोडलसमेत नयाँ कोटाको दायरामा पर्नेछन् ।

ईयूले चीनबाहेक जापान, टर्की, बेलायत, दक्षिण कोरिया, मेक्सिको, मोरक्को, सर्बिया र अमेरिकाका लागि पनि छुट्टाछुट्टै आयात सीमा निर्धारण गरेको छ । यी देशका हकमा सन् २०२५ मा ईयू भित्रिएका हाइब्रिड गाडीको संख्यामा १५ प्रतिशतभन्दा केही बढी वृद्धि गरी वार्षिक कोटा तय गरिएको हो । यद्यपि, सबै देशलाई यस व्यवस्थाले समान प्रभाव पार्ने देखिँदैन । जापान, टर्की, बेलायत, दक्षिण कोरिया र अमेरिकाबाट अनुसन्धान अवधिमा आयात भएका गाडीको संख्या नयाँ व्यवस्थाले तोकेको वार्षिक सीमाभन्दा कम थियो ।

तर, चीनका लागि भने नयाँ कोटा निकै कडा हुने देखिएको छ । सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको एक वर्षमा चीनबाट ४ लाख ८६ हजार ५८२ वटा हाइब्रिड गाडी ईयू भित्रिएका थिए । अब तोकिएको वार्षिक सीमा यसअघिको आयातभन्दा १ लाख ३६ हजार ५८२ वटा कम हो । यसले चिनियाँ उत्पादकको युरोपेली बजार विस्तारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

युरोपेली आयोगको प्रारम्भिक अनुसन्धानले चीनबाट हाइब्रिड गाडीको आयात तीव्र रूपमा बढ्दा युरोपेली अटोमोबाइल उत्पादकहरू दबाबमा परेको निष्कर्ष निकालेको छ । चिनियाँ गाडीको बढ्दो उपस्थितिले युरोपेली उत्पादकको बजार हिस्सा प्रभावित हुनुका साथै जापान र दक्षिण कोरियाका गाडीको बजार हिस्सासमेत घटाएको आयोगको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *