टाटा एरिस र मारुती डिजायरमा कुनमा के फरक ? यस्तो छ पूरा तुलना

काठमाडौं । कम्प्याक्ट सेडान बजारमा टाटा मोटर्सले नयाँ एरिस ल्याएसँगै मारुती डिजायरसँग यसको प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। मूल्य, आकार, बुट स्पेस, प्रविधि, इन्जिन र माइलेजका आधारमा हेर्दा दुवै कारमा केही समानता भए पनि उल्लेख्य भिन्नता छन्।

भारतमा टाटा एरिसको मूल्य ५ लाख २९ हजारदेखि ९ लाख ७४ हजार भारुसम्म तोकिएको छ। पाँच भेरियन्टमा उपलब्ध एरिसको तुलनामा मारुती डिजायर चार भेरियन्टमा आउँछ र यसको मूल्य ६ लाख ३० हजारदेखि ९ लाख ५४ हजार भारुसम्म छ।

आकारमा भने दुवै निकै नजिक छन्। दुवैको लम्बाइ ३९९५ एमएम र ह्विलबेस २४५० एमएम छ। तर डिजायर १७३५ एमएम चौडा हुँदा एरिसको चौडाइ १६८४ एमएम मात्र छ। एरिसको उचाइ १५३२ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम छ भने डिजायरको उचाइ १५२५ एमएम र ग्राउन्ड क्लियरेन्स १६३ एमएम छ।

बुट स्पेसमा भने एरिस अगाडि देखिन्छ। यसको पेट्रोल भर्सनमा ४१९ लिटरको बुट उपलब्ध छ, जबकि डिजायरमा ३८२ लिटरको बुट स्पेस दिइएको छ। एरिसको डिजाइनमा फुल एलईडी लाइटिङ तथा नयाँ स्टाइलिङ प्रयोग गरिएको छ। डिजायरले भने एलईडी हेडलाम्प, ड्युअल टोन अलोय ह्विल र फग ल्याम्पसहित प्रिमियम डिजाइनलाई निरन्तरता दिएको छ।

फिचरतर्फ एरिसमा १०.२५ इन्चको टचस्क्रिन, ५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, बिल्ट-इन ड्यासक्याम, रेन सेन्सिङ वाइपर र ब्लाइन्ड-भ्यु मनिटरजस्ता सुविधा छन्। डिजायरमा ९ इन्चको इन्फोटेनमेन्ट सिस्टमसँगै ६ एयरब्याग, वायरलेस चार्जिङ, क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, टायर प्रेसर मोनिटरिङ, ३६० डिग्री क्यामेरा र क्रुज कन्ट्रोल उपलब्ध छन्।

इन्जिनतर्फ दुवैमा १.२ लिटर पेट्रोल विकल्प दिइएको छ। एरिसको पेट्रोल इन्जिनले ८५ बीएचपी र ११३ एनएम टर्क उत्पादन गर्छ भने सीएनजीमा ७४ बीएचपी र ९७ एनएम टर्क उत्पादन हुन्छ। डिजायरको नयाँ ३ सिलिन्डर जेड–सिरिज इन्जिनले पेट्रोलमा ८० बीएचपी र ११२ एनएम तथा सीएनजीमा ६९ बीएचपी र १०२ एनएम टर्क दिन्छ। दुवैमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प छ।

माइलेजमा भने डिजायरको दाबी बढी छ। एरिसले पेट्रोलमा करिब १९ किलोमिटर प्रतिलिटर र सीएनजीमा २४ किलोमिटर प्रतिकिलोग्राम माइलेज दिने दाबी गरिएको छ। डिजायरले पेट्रोलमा २५.१५ किलोमिटर प्रतिलिटर र सीएनजीमा ३५.६३ किलोमिटर प्रतिकिलोग्रामसम्म माइलेज दिने दाबी गरेको छ।

एरिसलाई मुख्यतः निजी ग्राहकलाई लक्षित गरिएको छ भने डिजायर निजी प्रयोगसँगै फ्लीट सञ्चालनमा समेत प्रयोग हुँदै आएको छ। त्यसैले बढी बुट स्पेस, नयाँ डिजाइन र थप केही प्रविधि खोज्ने ग्राहकका लागि एरिसको पक्षमा आकर्षण हुन सक्छ भने माइलेज तथा बहुउद्देश्यीय प्रयोगलाई प्राथमिकता दिने ग्राहकका लागि डिजायरको स्पेसिफिकेसन महत्वपूर्ण हुन सक्छ।

हाल डिजायर नेपाली बजारमा उपलब्ध छ भने एरिस भारतमा भर्खरै सार्वजनिक भएको हो। भविष्यमा एरिस नेपालमा भित्रिएमा कम्प्याक्ट सेडान बजारमा यी दुई मोडलबीचको प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *