इटालेली लक्जरी कार निर्माता कम्पनी फेरारीको पहिलो पूर्ण विद्युतीय कार लुसे ६ अर्ब रुपैयाँ बढीमा बिक्री भएको छ । कम्पनीको पहिलो इलेक्ट्रीक कार लुसे ४ करोड अमेरिकी डलर (६ अर्ब १० करोड रुपैयाँ) मा लिलामी भएको हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित प्रसिद्ध लिलामी गृह ‘आरएम सोथबी’मा भएको लिलामीमा लुसेलाई ४ करोड डलर तिरेका हुन् । यो मूल्य यसको सामान्य बिक्री मूल्यभन्दा ३५ गुणा धेरै हो ।
यससँगै फेरारी लुसे अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री हुने कुनै पनि नयाँ गाडी बनेको छ । यसको लिलामीबाट उठेको सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूमा खर्च गरिने बताइएको छ।
सोथबीले एक विज्ञप्तिमा लिलामी गरिएको यो गाडी लुसेको पहिलो उत्पादन कार स्वामित्वमा लिने ‘अतुलनीय अवसर’ भएको बताएको छ ।
लिलामीमा बिक्री भएको लुसे विशेष संस्करणको कार हो । जसलाई फेरारीको पहिलो उत्पादन च्यासिसका रूपमा प्रस्तुत गरिएको थियो । यो कारमा विशेष डिजाइनका पाँग्रा र कस्टमाइज्ड ब्रेक प्रयोग गरिएको छ। यसको डिजाइनमा आईफोनका चर्चित डिजाइनर सर जोनी आइभले पनि काम गरेको बताइएको छ ।
फेरारीले मे महिनामा लुसे सार्वजनिक गरेको थियो। त्यतिबेला पाँच सिट भएको र ब्याट्रीबाट चल्ने कारले फेरारीको परम्परागत पहिचान कमजोर बनाएको भन्दै केही आलोचकले असन्तुष्टि जनाएका थिए। इटालीका उपप्रधानमन्त्री माटेओ साल्भिनी र फेरारीका पूर्व अध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोले समेत यसको आलोचना गरेका थिए।
कम्पनीले लुचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । तर फाइनान्सियल टाइम्सको एक रिपोर्ट अनुसार चीनबाट आएको उच्च मागका कारण यसले यो वर्षको लक्ष्य पूरा गरिसकेको छ ।
फेरारीका कारहरु लिलामीमा निकै महँगो मूल्यमा बिक्री हुने गरेका छन् । सन् २०२५ मा भएको लिलामीमा एउटा बेस्पोक फेरारी डेटोना एसपी३ सुपरकार २ करोड ६० लाख डलरमा बिक्री भएको थियो। सो बेला यसले सर्वाधिक महँगो नयाँ कारको रेकर्ड बनाएको थियो ।