नाइमा सकिएलगत्तै नाडा अटो शोको तयारी तीव्र, चर्चित ब्रान्डको पुनरागमन

काठमाडौं । साउन २६ गतेदेखि काठमाडौंमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो आइतबार सम्पन्न भएको केही दिनमै अर्को ठूलो अटोमोबाइल प्रदर्शनीको तयारी अघि बढेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागेको ‘नाडा अटो शो’ यसपटक विगतको तुलनामा थप भव्य हुने देखिएको छ।

नाइमा मोबिलिटी एक्स्पोमा दुई दर्जनभन्दा बढी कार ब्रान्ड सहभागी भएका थिए भने ५० भन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको थियो। उक्त एक्स्पोमा आकर्षण बनेका अधिकांश प्रमुख ब्रान्डहरू नाडा अटो शोमा समेत सहभागी हुने भएका छन्।

नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै साना तथा ठूला कमर्सियल भेइकल, स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री तथा विभिन्न अटोमोबाइल एसेसोरिज प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्।

अघिल्लो वर्ष नाइमा एक्स्पो आयोजना भएपछि नाडा अटो शोको प्रभाव र भविष्यबारे विभिन्न अड्कलबाजी भएका थिए। तर, यस वर्ष नाइमा एक्स्पोमा सहभागी भएका प्रमुख ब्रान्डहरूको समेत सहभागिता हुने भएपछि नाडा अटो शो थप प्रतिस्पर्धात्मक र आकर्षक बन्ने संकेत देखिएको छ।

नाइमा एक्स्पोमा चर्चा बटुलेका टाटा, प्रोटोन, बीवाईडी, चेरी, ओमोडा, जेइको, एमजी, वुलिङ, लिपमोटर र जीडब्लूएम गरी १० प्रमुख ब्रान्ड नाडा अटो शोमा पनि देखिनेछन्।

गत वर्ष नाडा अटो शोमा मात्र सहभागी भएको सिप्रदी ट्रेडिङले यसपटक नाइमा एक्स्पोमा टाटा पन्च र टियागो ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको थियो। कम्पनीले अब नाडा अटो शोमा सियरा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ।

त्यस्तै, नाइमा मोबिलिटी एक्स्पोमा मात्र सहभागी हुँदै आएका एसपीजी अटोमोबाइल्स, पारमाउन्ट मोटर्स, जगदम्बा मोटर्स, सांग्रिला मोटर्स र भीजी इम्पेक्सले पनि नाडा अटो शोका लागि स्टल बुक गरेका छन्।

नाडा अटो शोमा साइमेक्स इंकले एट्टो सिरिजको नयाँ जेनेरेशनका मोडल प्रदर्शन गर्ने तयारी गरेको छ। एसपीजी अटोमोबाइल्सले चेरी, ओमोडा र आईकारका विद्युतीय सवारीसाधन प्रदर्शन गर्नेछ। जगदम्बा मोटर्सले प्रोटोन, पारमाउन्ट मोटर्सले एमजी र वुलिङ तथा भीजी इम्पेक्सले जीडब्लूएम ब्रान्डलाई प्रदर्शनीमा प्रस्तुत गर्नेछन्।

यसका अतिरिक्त एक्सपेङ, एवोन, दिपल, जेटुर, सुजुकी, अवतार, स्कोडा, डोङफेङ नामी, बीएडब्लू, जिली, रिडारा र फोटोनलगायत ब्रान्डका चारपाङ्ग्रे सवारीसाधन पनि नाडा अटो शोका प्रमुख आकर्षण बन्नेछन्।

नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भएको छोटो समयमै आयोजना हुन लागेको नाडा अटो शोमा नयाँ ब्रान्ड, नयाँ मोडल र विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहने भएकाले यसपटकको प्रदर्शनी नेपाली अटो बजारका लागि थप महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *