काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शन हुने प्रमुख मञ्चका रूपमा रहेको ‘नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।
नाडाको ५०औँ स्थापना वर्षलाई विशेष बनाउने उद्देश्यसहित यसपटकको अटो शो १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार करिब तीन लाख वर्गफुट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।
अटो शोमा यात्रुवाहक कारदेखि व्यावसायिक सवारीसाधन र दुईपाङ्ग्रे सवारीसम्म विभिन्न ब्रान्डको सहभागिता रहनेछ। प्रदर्शनीमा २४ पेसेन्जर कार ब्रान्ड, १७ लाइट कमर्सियल भेहिकल ब्रान्ड र १३ दुईपाङ्ग्रे ब्रान्डले आफ्ना उत्पादन प्रस्तुत गर्नेछन्।
सवारीसाधनबाहेक अटोमोबाइलसँग सम्बन्धित वित्तीय तथा बीमा सेवाका १० प्रदायक पनि प्रदर्शनीमा सहभागी हुनेछन्। त्यस्तै, स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स, एसेसरिज, ग्यारेज उपकरणलगायत सामग्री तथा सेवा प्रस्तुत गर्न करिब ७० स्टल छुट्याइएको छ।
यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल गरिएका सवारीसाधनलाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिनेछ। लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन पनि दर्शकले एउटै स्थलमा अवलोकन गर्न सक्नेछन्।
नाडाले अटो शोमार्फत उपभोक्तालाई बजारमा भित्रिएका नयाँ सवारीसाधन र प्रविधिबारे प्रत्यक्ष जानकारी दिने लक्ष्य राखेको छ। साथै, उत्पादक, वितरक, व्यवसायी तथा उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने र अटोमोबाइल क्षेत्रको व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा सहभागी कम्पनीहरूले नयाँ मोडल तथा प्रविधि सार्वजनिक गर्नुका साथै आफ्ना उत्पादन र सेवाबारे ग्राहकलाई जानकारी दिनेछन्। यसले कम्पनीहरूलाई सम्भावित ग्राहक तथा व्यवसायिक साझेदारसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत प्रदान गर्नेछ।
नाडा अटो शो २०२६ नेपालको अटोमोबाइल बजारमा भइरहेका प्रविधिगत परिवर्तन, विद्युतीय सवारीको विस्तार र नयाँ उत्पादनको प्रतिस्पर्धालाई नजिकबाट नियाल्ने महत्वपूर्ण अवसर बन्ने आयोजकको विश्वास छ।
यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।