बजेट ईभी सेग्मेन्टमा कियाको प्रवेश, सिरोस ईभीको बुकिङ खुला

काठमाडौं — कियाले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय एसयूभी सिरोस ईभी सार्वजनिक गर्ने भएको छ। कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नाइमा मोबिलिटी एक्स्पोमार्फत सिरोस ईभीको आधिकारिक बुकिङ खुला गरेको हो।

सिरोस ईभी नेपालमा उपलब्ध हुने कियाको सबैभन्दा सस्तो विद्युतीय मोडल बन्ने भएको छ। यसअघि कम्पनीले नेपाली बजारमा ईभी६ र ईभी९ जस्ता प्रिमियम विद्युतीय मोडल बिक्री गर्दै आएको थियो।

कम्पनीले सिरोस ईभीको नियमित बजार मूल्य ३७ लाख ९० हजार रुपैयाँ तोकेको छ। तर, नाइमा मोबिलिटी एक्स्पोको प्रारम्भिक अफरअन्तर्गत पहिलो १०० जना ग्राहकले २ लाख रुपैयाँको विशेष छुट पाउनेछन्। यससँगै उनीहरूले सिरोस ईभी ३५ लाख ९० हजार रुपैयाँमा बुकिङ गर्न सक्नेछन्।

नेपाली बजारमा सिरोस ईभी ४२ किलोवाट आवर ब्याट्री प्याकसहित आउनेछ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४४३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ।

सिरोस ईभीमा १७१ पीएस पावर उत्पादन गर्ने मोटर जडान गरिएको छ। यसले १०० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जरको प्रयोग गर्दा ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३९ मिनेट लाग्ने कम्पनीको दाबी छ।

फिचरतर्फ पनि सिरोस ईभीलाई आकर्षक बनाउने प्रयास गरिएको छ। यसमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स, ३० इन्चको ट्रिपल प्यानो डिस्प्ले, ६ वटा एयरब्याग तथा लेभल–२ एडासलगायतका सुविधा उपलब्ध छन्।

आधुनिक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, लामो रेन्ज र सुरक्षा तथा प्रविधिमा आधारित फिचरका कारण सिरोस ईभीले नेपाली बजारको बजेट विद्युतीय एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्काउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *