काठमाडौँ — विद्युतीय सवारीसाधनको सबैभन्दा महँगो कम्पोनेन्टमध्ये एक मानिने ब्याट्रीमा समस्या आएपछि अब पूरै ब्याट्री प्याक नै परिवर्तन गर्नुपर्ने अवस्था कम हुने भएको छ। विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलले बिग्रिएको सेललाई मात्र प्रतिस्थापन गर्न सकिने नयाँ मर्मत सेवा सुरु गरेको छ।
कम्पनीले ‘सेल–टु–प्याक’ प्रविधिमा आधारित यो सेवामार्फत आवश्यक परेको स्थानमा मात्र मर्मत तथा सेल प्रतिस्थापन गर्ने व्यवस्था अघि सारेको हो। यसअघि सामान्य क्षति वा डेन्टका कारण समेत पूरै ब्याट्री प्याक परिवर्तन गर्नुपर्ने अवस्था आउँदा ईभी प्रयोगकर्ताले ठूलो आर्थिक भार बेहोर्नुपर्थ्यो।
सीएटीएलका अनुसार नयाँ प्रणालीबाट ब्याट्री मर्मतको खर्च १० गुणासम्म घटाउन सकिनेछ। यसले प्रयोगकर्ताको मर्मत खर्च घटाउनुका साथै ब्याट्रीसम्बन्धी बीमा दाबी र प्रिमियममा देखिने लागतलाई समेत कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले यो सेवा विस्तारलाई पनि तीव्र बनाउने भएको छ। सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिसम्म विश्वका १०० शहरमा ईभी ब्याट्री मर्मत केन्द्र पुर्याउने सीएटीएलको योजना छ।
‘निङ सर्भिस’ नाम दिइएको यो सञ्जाल सीएटीएलको प्रत्यक्ष नियन्त्रण र सञ्चालनमा रहनेछ। ब्याट्रीको समस्या पहिचानदेखि मर्मतसम्मका प्रक्रियामा स्वचालन तथा रोबोटिक प्रविधिको प्रयोग गरिने कम्पनीले जनाएको छ। मर्मत कार्य ७२ घण्टा वा सोभन्दा कम समयमा पूरा गर्ने लक्ष्य समेत राखिएको छ।
चीनको हाइकोउमा आयोजित ‘निङ डे २०२६’ कार्यक्रममा सीएटीएलले चीनमा आफ्नै प्रत्यक्ष सञ्चालनमा रहेका आठ सेवा केन्द्र सञ्चालनमा आइसकेको जानकारी दिएको छ। त्यस्तै, नर्वे र इस्तानबुलमा दुई अन्तर्राष्ट्रिय केन्द्रसमेत स्थापना भइसकेका छन्।
सीएटीएलका अनुसार ‘निङ सर्भिस’ अन्तर्गत हाल ८४ देशमा १ हजार ३७६ फ्रान्चाइज्ड सेवा केन्द्र सञ्चालनमा छन्।
ईभीको ब्याट्रीमा सानो समस्या आउँदा समेत पूरै प्याक परिवर्तन गर्नुपर्ने परम्परागत अभ्यासलाई परिवर्तन गर्दै आवश्यक भागमा मात्र मर्मत गर्ने प्रणाली विकास गर्नु सीएटीएलको मुख्य उद्देश्य हो। यस्तो प्रणालीले ब्याट्रीको उपयोग अवधि बढाउनुका साथै ईभीको दीर्घकालीन सञ्चालन लागत घटाउन सक्ने अपेक्षा गरिएको छ।