काठमाडौं । नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढ्दै गए पनि त्यसअनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण संस्थाको पाठ्यक्रम र शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियाले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा बोल्दै थपलियाले आधुनिक अटोमोबाइल उद्योगका लागि आवश्यक जनशक्ति उत्पादनमा नेपालका शैक्षिक संस्था अझै पर्याप्त रूपमा तयार नभएको बताएका हुन्।
उनका अनुसार नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ र साइबर सुरक्षाजस्ता परम्परागत विषयमा बढी केन्द्रित भएर अध्यापन भइरहेको छ। तर नयाँ पुस्ताका सवारीसाधनमा प्रयोग भइरहेका एआई, सेन्सर, स्वचालन, एम्बेडेड सिस्टम र अटोमोटिभ सफ्टवेयरजस्ता प्रविधिमा आवश्यक दक्षता विकास गर्नेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन ।
‘अहिलेका गाडीहरू प्रविधिले भरिएका छन्, तर त्यही प्रविधिका लागि हामीले आफ्ना विद्यार्थी तयार गरिरहेका छैनौँ,’ उनले भने, ‘अबको पाठ्यक्रममा नै परिवर्तन आवश्यक छ।’
थपलियाले एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर तथा डिजिटल फरेन्सिकजस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने बताए। आधुनिक सवारीसाधनमा ठूला डिजिटल डिस्प्ले, विभिन्न प्रकारका सेन्सर, स्वचालित प्रणाली, चेतावनी प्रणाली तथा सफ्टवेयर अपडेटजस्ता प्रविधि प्रयोग भइरहेकाले विद्यार्थीलाई यस्ता प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउनुपर्ने उनको भनाइ छ।
नेपालको भौगोलिक अवस्था र सडक पूर्वाधारअनुसार सवारीसाधनसम्बन्धी अनुसन्धान पनि आवश्यक रहेको उनले बताए। विशेषगरी विद्युतीय सवारीको रेन्ज, चार्जिङ पूर्वाधार, यात्राका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक जोखिम तथा स्थानीय सडकअनुकूल सवारी प्रविधिबारे नेपालमै अनुसन्धान गर्नुपर्ने उनले उल्लेख गरे।
‘विकसित राष्ट्रहरूले सवारीसाधनदेखि बाटोसम्म अनुसन्धान गरेका छन्। नेपाली विद्यार्थी सक्षम छन्, तर त्यत्तिले मात्रै पुग्दैन। अहिलेको पाठ्यक्रममै परिवर्तन गर्नुपर्छ,’ थपलियाले भने।
उनले ईभीको ब्याट्री, चार्जिङ पूर्वाधार र सार्वजनिक यातायातमा विद्युतीय प्रविधिको प्रयोगबारे पनि थप अनुसन्धान गर्नुपर्ने बताए। नेपालमा विद्युत्को प्रयोगबाट सार्वजनिक यातायात सञ्चालन गर्दा आर्थिक तथा वातावरणीय रूपमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अध्ययन गर्न सकिने उनको धारणा छ।
थपलियाले उद्योग र शैक्षिक संस्थाबीच अनुसन्धान तथा लगानीमा सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए। उनका अनुसार कलेज तथा विश्वविद्यालयले उद्योगसँग सहकार्य गरेर वास्तविक अटोमोबाइल प्रविधिमा आधारित अनुसन्धानका अवसर सिर्जना गर्नुपर्छ भने उद्योगले भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्ति विकासका लागि शैक्षिक संस्थासँग सहकार्य गर्नुपर्छ।
उनले एआईले शिक्षा क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याइसकेको बताए। विद्यार्थीले प्रविधिको प्रयोगबाट छोटो समयमै नयाँ विषय सिक्न र व्यावहारिक काम गर्न सक्ने अवस्था बनेकाले शिक्षण संस्थाले पनि आफ्नो भूमिका र पद्धतिलाई त्यसअनुसार परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
अटोमोबाइल क्षेत्रमा प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेका बेला शिक्षण संस्थाले समयमै पाठ्यक्रम र अध्ययन प्रणाली परिमार्जन गर्न नसके भविष्यमा नेपाली विद्यार्थी रोजगारी र प्रविधि विकासको प्रतिस्पर्धामा पछि पर्न सक्ने थपलियाले चेतावनी दिए।