नाइमा एक्सपोमा बिमा कम्पनीको विशेष अफर, सवारी बिमामा २.५ प्रतिशतसम्म छुट

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै बिमा कम्पनीहरूले सवारीसाधन बिमामा विशेष छुट तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन् ।

नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई आर्थिक सुरक्षा र बिमा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिमा कम्पनीहरूले एक्सपोमै आफ्ना सेवा विस्तार गरेका हुन् ।

यस वर्षको मोबिलिटी एक्सपोमा एनएलजी इन्स्योरेन्स र सलिको इन्स्योरेन्स मुख्य बिमा पार्टनरका रूपमा सहभागी छन् । दुवै कम्पनीले सवारीसाधन बिमाअन्तर्गत दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति, चोरी, तेस्रो पक्षको दायित्वलगायतका जोखिम समेट्ने विभिन्न सुरक्षा योजना अघि सारेका छन् ।

एक्सपोको अवसरमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वास्थ्य बिमातर्फ ‘एनएलजी हेल्थ सहारा’ योजना सार्वजनिक गरेको छ । अस्पताल भर्ना भएर उपचार गर्दा हुने ठूलो खर्चको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको योजनाले अस्पताल भर्ना, डे–केयर प्रक्रिया, कोठा तथा आईसीयू शुल्क, अपरेसन थिएटर, चिकित्सक तथा विशेषज्ञको शुल्कलगायतका खर्च समेट्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, औषधि, डायग्नोस्टिक, प्याथोलोजी र रेडियोलोजीलगायतका उपचार खर्चमा पनि योजनाले आर्थिक सुरक्षा प्रदान गर्नेछ ।

मोटर बिमातर्फ एनएलजी इन्स्योरेन्सले कार, ट्याक्सी, बस, ट्रक लगायत विभिन्न प्रकारका सवारीसाधनलाई समेटेको छ । एक्सपोमा कम्पनीसँग प्रत्यक्ष जोडिने ग्राहकका लागि मोटर बिमा प्रिमियममा २.५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सवारीसाधन प्रदर्शनीसँगै बिमा कम्पनीहरूको सक्रिय सहभागिताले नयाँ गाडी खरिद गर्ने ग्राहकलाई एउटै थलोबाट सवारीसाधन तथा त्यससँग सम्बन्धित वित्तीय र सुरक्षासम्बन्धी सेवा लिन सहज बनाएको छ ।

एक्सपोमा सहभागी बिमा कम्पनीहरूले ग्राहकका जिज्ञासा सम्बोधन गर्न तथा आवश्यक प्रक्रिया पूरा गरी तत्काल बिमा पोलिसी जारी गर्न छुट्टै स्टल सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *