काठमाडौं । नेपालमा एथरको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि एथर इलेक्ट्रिकको आधिकारिक बिक्रेता वैद्य इनर्जीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एथर रिज्टा जेडको नयाँ एलआर भेरियन्ट सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो ।
कम्पनीले रिज्टा जेड सिरिजमा तुलनात्मक रूपमा कम ब्याट्री क्षमता र टचस्क्रिन डिस्प्लेसहितको एलआर भेरियन्ट नेपाल ल्याएको हो । यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो रिज्टा जेड सिरिजअन्तर्गत नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको भेरियन्ट हो ।
रिज्टा जेड एलआरमा आईपीएक्स७ वाटर तथा डस्ट रेसिस्टेन्ससहितको २.७ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिन्छ । घरमै उपलब्ध चार्जरबाट ब्याट्री पूर्ण चार्ज गर्न ४ घण्टा १० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
स्कुटरमा आईपी६६ रेटिङयुक्त ४.३ किलोवाटको मोटर जडान गरिएको छ । यसको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.७ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, स्कुटरमा पूर्ण एलईडी लाइट सेटअप, विभिन्न राइडिङ मोड, रियल रेन्ज, पार्किङ असिस्ट, अटो होल्ड, गाइड मी होम लाइट, फल सेफ, स्किड कन्ट्रोल, ब्याट्री रिजेनेरेसन सिस्टम, इमर्जेन्सी स्टप सिस्टम र ओटीए अपडेट सुविधा दिइएको छ ।
सुरक्षाका लागि एबीएस, डिस्क ब्रेक तथा सीबीएस ब्रेकिङ सिस्टम उपलब्ध छन् । यसबाहेक अलोय ह्वील, टेलिस्कोपिक फोर्क, मोनोसक सस्पेन्सन र भ्वाइस इन्टर्याक्सनजस्ता सुविधा पनि स्कुटरमा समावेश गरिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक गरिएको नयाँ भेरियन्टले कम मूल्यमा एथरको रिज्टा जेड सिरिज रोज्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।