सवारी आयातमा ‘खरायो’, पूर्वाधार निर्माणमा ‘कछुवा’ : ध्रुव थापा

काठमाडौं । नेपालमा सवारीसाधनको आयात तीव्र गतिमा बढे पनि सडक तथा यातायात पूर्वाधार निर्माण भने अपेक्षाकृत सुस्त रहेको नाडा पूर्वअध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले बताएका छन् ।

बुधबार आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारीसाधनको संख्या बढ्नु मात्रै समस्या नभएको भन्दै त्यसअनुसार सडक, पार्किङ र ट्राफिक व्यवस्थापनका पूर्वाधार विकास गर्न नसक्नु मुख्य चुनौती रहेको बताए ।

‘हामी सवारीसाधन भित्र्याउन खरायोको गतिमा हिँडे पनि सरकार पूर्वाधार व्यवस्थापनमा कछुवाको गतिमा हिँडिरहेको छ,’ थापाले भने ।

उनले नेपालमा विगतमा भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याउने अवस्थादेखि अहिले प्रविधिमैत्री सवारीसाधन भित्र्याउने अवस्थासम्मको यात्रा तय भएको बताए । व्यवसायीको उद्देश्य सवारीसाधन बिक्री गर्नु मात्रै नभई अटोमोबाइल क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि रहेको उनको भनाइ थियो ।

थापाले सुरक्षित सडक यात्राका लागि सवारीसाधनसँगै गुणस्तरीय सडक पूर्वाधार र प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक रहेको बताए । ट्राफिक व्यवस्थापन सुधारका लागि प्रभावकारी जरिवाना प्रणाली र नियमको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

विदेशमा जरिवाना तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले चालकमा अनुशासन कायम गर्न सहयोग गरेको उल्लेख गर्दै उनले नेपालमा पनि ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रभावकारी कारबाहीको व्यवस्था गर्नुपर्ने बताए ।

यातायातसम्बन्धी नीति तथा कानुन निर्माण गर्दा व्यवसायी, विज्ञ तथा अन्य सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने थापाको भनाइ छ । सम्बन्धित पक्षको सुझावबिना नीति तथा कानुन बनाउँदा कार्यान्वयनका क्रममा व्यावहारिक समस्या आउन सक्ने उनले बताए ।

काठमाडौंमा पार्किङको समस्या पनि गम्भीर बन्दै गएको उनले उल्लेख गरे । भृकुटीमण्डपलगायतका क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर व्यवस्थित पार्किङ पूर्वाधार निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

नेपाललाई कुनै क्षेत्रको ‘डम्पिङ साइट’ बनाउन नहुने बताउँदै थापाले विद्युतीय सवारीसाधन (ईभी) को आयात बढिरहेको अवस्थामा त्यसअनुसार आवश्यक पूर्वाधार, नीति–नियम र स्पष्ट मापदण्ड निर्माण गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

‘ईभी आयात भइरहेका छन् । तर, त्यसअनुसार आवश्यक पूर्वाधार, नीति–नियम र स्पष्ट मापदण्ड निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

सवारीसाधनको आयात र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्न नसके आगामी दिनमा ट्राफिक व्यवस्थापन, पार्किङ तथा सडक सुरक्षासम्बन्धी समस्या थप जटिल बन्न  सक्ने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *