अविरल वर्षापछि देशभर सडक सञ्जाल प्रभावित, यी राजमार्ग पूर्ण र आंशिक रूपमा अवरुद्ध

काठमाडौं । केही दिनदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

काठमाडौं र ललितपुरलाई जोड्ने वैकल्पिक मार्गसमेत पहिरोका कारण प्रभावित बनेका छन्। ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोलामा पहिरो खस्दा सितापाइला–धार्के सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर र इलाममा पनि वर्षाका कारण सडकमा अवरोध भएको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने सवारीका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, सो क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशका केही राजमार्गमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ।

बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिने जनाइएको छ।

यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अवधिभर उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *