काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै सुरुङमार्ग निर्माणमा अघि बढेको नेपाल अब अर्को महत्वपूर्ण पूर्वाधार सञ्चालनको तयारीमा पुगेको छ। निर्धारित समयमै निर्माण सम्पन्न भए सिद्धबाबा सुरुङमार्ग आउँदो दसैं–तिहारपछि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र हरेक वर्ष बर्खायाममा पहिरोका कारण अवरुद्ध हुँदै आएको छ। चुरे क्षेत्रको कमजोर भौगोलिक बनोटका कारण सामान्य वर्षामै पहिरो जाने समस्या रहेको यस क्षेत्रमा पछिल्ला तीन वर्षमै पहिरोका घटनामा १० जनाले ज्यान गुमाइसकेका छन्।
यही जोखिमलाई मध्यनजर गर्दै निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको मुख्य उद्देश्य पहिरो प्रभावित क्षेत्रलाई छल्ने सुरक्षित वैकल्पिक मार्ग उपलब्ध गराउनु हो। सुरुङ सञ्चालनमा आएपछि बुटवल–पोखरा सडक यात्रा थप सुरक्षित, सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।
यसले लुम्बिनी र गण्डकी प्रदेशबीचको आवागमनलाई सहज बनाउनुका साथै भैरहवा, बुटवल र पोखराबीचको आर्थिक तथा पर्यटन गतिविधिलाई थप गति दिने विश्वास गरिएको छ। भारतको सुनौली नाकाबाट पोखरा आउने पर्यटकका लागि समेत सुरक्षित यात्रा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
दैनिक करिब सात हजार सवारीसाधन सञ्चालन हुने सिद्धार्थ राजमार्गमा सुरुङमार्ग सञ्चालन भएपछि यात्रुले वर्षौंदेखि भोग्दै आएको पहिरो, सडक अवरोध र लामो जामको समस्याबाट उल्लेखनीय राहत पाउने विश्वास गरिएको छ।
नागढुंगा सुरुङमार्गपछि सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा आउनु नेपालका लागि पूर्वाधार विकासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि, समयमै निर्माण सम्पन्न गरी सुरक्षित र प्रभावकारी सञ्चालन गर्नु नै अब मुख्य चुनौती रहनेछ।