इनड्राइभ ‘ड्राइभिङ नारी’ परियोजनामा लुइटेलले जितिन् स्कुटर

राइड–हेलिङ प्लेटफर्म इनड्राइभले सञ्चालन गरेको ‘ड्राइभिङ नारी’ परियोजनाअन्तर्गत तीन महिने तालिम सम्पन्न गरेका १० महिलाहरुलाई सम्मान गरिइएको छ । आज सोमबार काठमाडौस्थीत गैरिधारामा एक कार्यक्रमको आयोजना गरि सफलतापूर्वक तालिम पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको हो ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसँगै टोकन अफ लभ र विभिन्न सरप्राइज उपहार पनि वितरण गरिएको थियो। कार्यक्रममा आयोजित लक्की ड्रमार्फत प्रशिक्षार्थी सरिता लुइटेलले इलेक्ट्रिक स्कुटर प्राप्त गरिन् भने अन्य सहभागीले स्मार्टफोन र स्मार्टवाच पुरस्कारस्वरूप पाएका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै इनड्राइभकी प्रतिनिधि सुनिता जिमी राईले ‘ड्राइभिङ नारी’ परियोजनाको उद्देश्य महिलालाई आर्थिक तथा सामाजिकरूपमा आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नु रहेको उल्लेख गरिन।

तीन महिनासम्म सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई सवारी चलाउने व्यावहारिक सीपसँगै वित्तीय साक्षरता, मोबाइल एपको प्रभावकारी प्रयोग, सुरक्षा सचेतना तथा मानसिक स्वास्थ्यसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

राईले सहभागी महिलाको लगनशीलता र सक्रियताको प्रशंसा गर्दै यो परियोजना केवल सुरुवात मात्र भएको उल्लेख गरिन्। आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गर्दै यसै वर्ष १०० भन्दा बढी महिलालाई समेट्ने र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले जानकारी गराइन।

इनड्राइभ नेपालकी सञ्चार अधिकृत मञ्जिता गुरुङले नेपालमा यातायात क्षेत्रमा महिलाको सहभागिता करिब ३.५ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै त्यसलाई बढाउने उद्देश्यले ‘ड्राइभिङ नारी’ परियोजना सञ्चालन गरिएको बताइन ।

उनले तालिममा सहभागी महिलाहरूलाई ड्राइभिङ सीपसँगै डिजिटल वालेट सञ्चालन, मोबाइल एपको प्रयोग, फिसिङ स्क्यामबाट जोगिने उपाय तथा आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको जानकारी दिइन ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रधान कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षाका लागि ट्राफिक नियम र अनुशासनको पालना अपरिहार्य रहेको बताउदै यसमा सबै नागरिक सचेत हुनुपर्ने बताए। पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनाका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले चालक तथा यात्रु दुवैले जिम्मेवार व्यवहार अपनाउनुपर्नेमा जोड दिए।

तालिममा सहभागी सरस्वती महर्जनले आफ्नो अनुभव सुनाउँदै परियोजनाले महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताइन्। आफूहरू तालिमअघि गृहिणी भएको र सवारी चलाउन नजान्ने अवस्थामा रहे पनि तीन महिनाको प्रशिक्षणपछि आत्मविश्वास बढेको र आत्मनिर्भर बन्ने आधार तयार भएको उल्लेख गरिन । उनले महिलाको सशक्तीकरणका लागि यस्तो कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिन आग्रह गरिन्।

कार्यक्रमकी प्रमुख आकर्षण तथा इनड्राइभकी ब्रान्ड एम्बेसेडर अभिनेत्री स्वस्तिमा खड्काले तालिम सफलतापूर्वक पूरा गरेका सबै सहभागीलाई बधाई दिँदै महिलाका लागि स्वतन्त्ररूपमा आवतजावत गर्न सक्ने क्षमता (मोबिलिटी इन्डिपेन्डेन्स) अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन ।

साथै,उनले ड्राइभिङ सीप हासिल गरेपछि इनड्राइभ जस्ता राइड–सेयरिङ प्लेटफर्ममार्फत आम्दानीको अवसर सिर्जना हुने र यसले महिलालाई आर्थिकरूपमा पनि सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *