दरवाङ सडक स्तरोन्नति सुरु

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति सुरु गरिएको छ।

गाउँपालिकाले बतासे–फूलबारी खण्डमा सुधारका लागि आयोजना अघि बढाएको हो। २०६६ सालमा खुलेको यो सडक अहिलेसम्म सामान्य मर्मतकै भरमा सञ्चालन हुँदै आएको थियो।

चालु आर्थिक वर्षमा प्रदेश समपूरक बजेटअन्तर्गत १ करोड रुपैयाँ विनियोजन गरिएको छ। निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार ४३२ रुपैयाँमा माघ २६ गते ठेक्का लिएको हो।

आगामी असार १५ भित्र काम सक्ने लक्ष्य राखिएको छ। हाल पहिलो चरणमा डोजर प्रयोग गरी सडक फराकिलो बनाउने काम तीव्र पारिएको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए।

हाल ३.५ देखि ४ मिटर चौडाइ रहेको सडकलाई कम्तीमा ६ मिटर पुर्‍याउन भित्ता काट्ने काम भइरहेको छ। त्यसपछि नाली, ग्रेड मिलाउने, घुम्ती सुधार, ग्याबियन र पलम पर्खाल निर्माण तथा ढलान गरिनेछ।

प्राविधिक शाखा प्रमुख दीपक सापकोटाका अनुसार आयोजनामा ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गरिनेछ।

यसअघि थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको सडक स्तरोन्नति गरिएको थियो। यो सडक मालिका गाउँपालिकाका वडा ४, २, ३ र बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यो चालु आर्थिक वर्षको प्राथमिकतामा परेको आयोजना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *