बूढीगण्डकीमा लगानी खोजी

काठमाडौं। १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया सुरु गरिएको छ।

मन्त्रिपरिषद्बाट लगानीको ढाँचा स्वीकृत भएपछि बूढीगण्डकी जलविद्युत कम्पनीले लगानी खोज्न थालेको हो।

कम्पनीले विभिन्न १२ बैंक तथा वित्तीय संस्थालाई आयोजना निर्माणमा लगानी गर्न आग्रह गर्दै पत्र पठाएको छ।

अब ती संस्थासँग छलफल गरी लगानी सुनिश्चित गर्ने तयारी भइरहेको छ। कम्पनीका अनुसार प्रि–कन्स्ट्रक्सनको काम अघि बढाउँदै दुई वर्षभित्र फाइनान्सियल क्लोजर गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको कुल लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसमा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत जुटाउने योजना छ।

सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने यस आयोजनामा ऋण र स्वपूँजी अनुपात क्रमशः ७० र ३० प्रतिशत रहनेछ।

आयोजना निर्माण सुरु भएपछि ८ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने उत्पादन सुरु भएपछि वार्षिक अर्बौँ आम्दानी हुने अपेक्षा गरिएको छ।

काठमाडौं, चितवन र पोखराजस्ता मुख्य विद्युत् माग केन्द्र नजिक भएकाले बूढीगण्डकी आयोजना ऊर्जा सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *