रोयल इन्फिल्डले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो मोटरसाइकल हिमालयन ७५० भारतीय बजारमा लन्च गरेको छ। यसको सुरुवाती एक्स-शोरूम मूल्य ४ लाख ८९ हजार भारु तोकिएको छ। मोटरसाइकलको बुकिङ डिसेम्बर १ देखि सुरु हुनेछ।
नयाँ हिमालयन ७५० मा ७४३ सीसी क्षमताको समानान्तर ट्विन इन्जिन दिइएको छ। यो कम्पनीको हाल प्रयोग भइरहेको ६४८ सीसी इन्जिनको परिमार्जित भर्सन हो।
सो इन्जिनले ७००० आरपीएममा ५५ एचपीको पावर र ५००० आरपीएममा ६३ एनएमको टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार इन्जिनले ३५०० आरपीएममै अधिकतम टर्कको ९० प्रतिशत उपलब्ध गराउँछ भने १३०० आरपीएममा आइडलिङ गर्छ।
हिमालयन ७५० कुल ३ भेरियन्टमा उपलब्ध हुनेछ । यसको बेस भेरियन्ट एज्टेक ग्रीन र टेक्टोनिक ब्ल्याक रङमा उपलब्ध हुनेछ। यसमा अलोय रिम र सिएट क्रसराड एटी टायर दिइएको छ। मिड भेरियन्टमा ट्युबलेस क्रस स्पोक रिम उपलब्ध हुनेछ । उक्त भेरियन्टमा भ्रेडस्टाइन सेन्टोरो एक्सआर टायर प्रयोग गरिएको छ।
यसको टप भेरियन्ट अन्टार्कटिक सिल्भर रङमा उपलब्ध हुनेछ। साथै यसमा गिभी टप बक्स र प्यानियर, हिटेड ग्रिप्स, ह्यान्डगार्ड र आल्मुनियम स्किड प्लेट जस्ता फिचर दिइएको छ। यी ३ वटै भेरियन्टमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको पाङ्ग्रा उपलब्ध हुनेछ।
नयाँ हिमालयन ७५० मा क्रुज कन्ट्रोल, कर्नरिङ एडजस्टेबल एबीएस, ट्र्याक्सन कन्ट्रोल, नयाँ एलईडी हेडलाइट, फ्रन्ट ड्युअल डिस्क ब्रेक र एडजस्टेबल शोवा सस्पेन्सनसमेत दिइएको छ।
रिपोर्टका अनुसार रोयल इन्फिल्डले अर्को ७५० सीसी मोटरसाइकल कन्टिनेन्टल जीटी ७५० पनि विकास गरिरहेको छ । यद्यपि कम्पनीले हालसम्म यसको बारेमा कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।