डोङफेङका विद्युतीय सिटी बसको डेलिभरी प्रारम्भ

हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा डोङफेङ ब्रान्डका विद्युतीय सिटी बसको डेलिभरी सुरु गरेको छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन गरी बिक्री सुरु गरेका यी बसको पहिलो चरणमा बुकिङ भएका केही युनिट ग्राहकलाई हस्तान्तरण गरेको हो।

कम्पनीका अनुसार डोङफेङका विद्युतीय सिटी बस नेपाली यातायात व्यवसायीमाझ लोकप्रिय बन्दै गएका छन्। बजारमा उपलब्ध बसमध्ये सबैभन्दा कम मूल्य १ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको दाबी छ। यी बस २० प्रतिशत डाउन पेमेन्टमा समेत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

ग्राहकले काठमाडौंको गैरीधारा र पोखराको चौथेमा रहेका आयाम इन्टरकन्टिनेन्टलका शोरुम तथा देशभरका आधिकारिक डिलरमार्फत बस खरिद गर्न सक्नेछन्।

नेपालको भौगोलिक अवस्था, सहरी तथा अर्धसहरी सडक र यात्रुको सुविधालाई ध्यानमा राखेर तयार गरिएको डोङफेङको विद्युतीय सिटी बसमा २२८ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। यसले १ हजार ५०० एनएम टर्क उत्पादन गर्छ। बसमा ३०० एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी बसले एकपटकको फुल चार्जमा एनईडीसी मापदण्डअनुसार ३०० किलोमिटरसम्म रेन्ज दिन्छन्। भेरियन्टअनुसार २५ देखि ३० सिट क्षमता रहेका बसमा यात्रु चढ्न र ओर्लन सहज हुने फराकिलो ढोका तथा आधुनिक सस्पेन्सन प्रणाली उपलब्ध छ।

बसको ब्याट्रीमा पाँच वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ। यसलाई आठ वर्ष वा ४ लाख किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। त्यस्तै, मोटरमा पाँच वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ।

डिजेल बसको तुलनामा इन्धन तथा मर्मतसम्भार खर्च कम हुने भएकाले विद्युतीय बसले यातायात व्यवसायीको सञ्चालन खर्च घटाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। विद्युतीय सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले आयाम इन्टरकन्टिनेन्टलले सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ। इच्छुक ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दीमा बस खरिद गर्न सक्नेछन्।

सन् १९६९ मा स्थापना भएको डोङफेङ मोटर कर्पोरेसन चीनको पुरानो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीले प्यासेन्जर कार, कमर्सियल बस र हेभी ट्रक उत्पादन गर्दै आएको छ। यसको उपस्थिति विश्वका १०० भन्दा बढी देशमा रहेको कम्पनीले जनाएको छ।

नेपालमा डोङफेङका विद्युतीय बसको आधिकारिक बिक्री तथा वितरण आयाम इन्टरकन्टिनेन्टलले गर्दै आएको छ। कम्पनीले हिमालय अर्गनाइजेसनको देशव्यापी सञ्जालमार्फत बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा चार्जिङ पूर्वाधारको व्यवस्था गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *