आरवाईडीको नयाँ वर्कसप

बाइक भाडामा उपलब्ध गराउँदै आएको ‘आरवाईडी नेपाल’ले सेवा विस्तार गर्दै कपन, ढलाने पुल नजिक आफ्नो पहिलो आधुनिक वर्कसप सञ्चालनमा ल्याएको छ।

वर्कसपको उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले गरेका थिए। कार्यक्रममा अटो क्षेत्रका विभिन्न व्यवसायी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कम्पनीका अध्यक्ष अभिषेक खतिवडाका अनुसार ग्राहकलाई छिटो र गुणस्तरीय सेवा दिन आफ्नै वर्कसप आवश्यक भएकाले यो सुविधा सुरु गरिएको हो। अब सेवा अझ व्यवस्थित र प्रभावकारी हुने तथा आगामी दिनमा शाखा विस्तार गर्ने योजना रहेको उनले बताए।

आरवाईडी नेपालले सुरुवातमा ५० वटा हिरो सुपर स्प्लेन्डर बाइकबाट सेवा सुरु गरेको थियो भने हाल संख्या बढाएर १०० पुर्‍याएको छ। नयाँ वर्कसपमा नियमित सर्भिसिङ, इन्जिन परीक्षण, ब्रेक–टायर जाँच र पार्ट्स परिवर्तनजस्ता सेवा उपलब्ध हुनेछन्।

‘अब कमाउने पालो तपाईंको’ भन्ने नारासहित सञ्चालनमा आएको कम्पनीले युवालाई रोजगारीको अवसर दिने लक्ष्य राखेको छ। कम्पनीले नयाँ, ब्रान्ड–न्यू बाइक मात्र भाडामा दिने व्यवस्था गरेको छ।

राइडरहरूले प्रतिदिन ८०० रुपैयाँ भाडामा बाइक लिन सक्नेछन् र कुनै लुकेको शुल्क नहुने कम्पनीको दाबी छ। साथै, डेढ वर्षभित्र आफ्नै बाइकको मालिक बन्न सकिने विशेष योजना पनि ल्याइएको छ।

कम्पनीले सुरुवातमा हेल्मेट, फोन होल्डर, रेनकोट र १५ सय रुपैयाँ बराबरको पेट्रोलसमेत उपलब्ध गराउने जनाएको छ।

डिजिटल प्लेटफर्ममार्फत अनलाइन बुकिङ सुविधा रहेको र ग्राहकले आवश्यक समय र मोडल छनोट गरेर सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

वर्कसप सञ्चालनसँगै बाइकको मर्मतसम्भार छिटो हुने र सेवा गुणस्तर सुधार हुने कम्पनीको विश्वास छ। प्रतिस्पर्धात्मक बजारमा यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *