नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज सोमबार साँझ समापन हुँदैछ। एक्स्पो यही साउन २१ गते बुधबारदेखि सुरू भएको हो।
आइतबारसम्मलाई तय भएको मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजक नाइमाले एक दिन थपेर सोमबारसम्म प्रदर्शनी गर्ने तय गरेको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको मोबिलिटी एक्स्पो साउन २१ गते बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। ५ दिनमा मोबिलिटी एक्स्पो ९१ हजार जनाले अवलोकन गरिसकेको नाइमाले जनाएको छ।
आइतबार एकै दिन २२ हजार जनाले मोबिलिटी एक्स्पो अवलोकन गरेका थिए। अवलोकनकर्ताको उत्साहजनक सहभागिता र प्रदर्शनीकर्ताको मागका कारण शनिबार साँझ नाइमा बोर्डले एक दिन समय थप गर्ने निर्णय गरेको थियो।
नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्डको सहभागी रहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चार पांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।
४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुई पांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागी भएका छन्।