राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ( मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ ।
पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो । यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो ।
पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउछन् । पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ ।
“पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपथ्र्यो । अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ । गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, चालक गुरुङले भने ।
मध्यपहाडी लोकमार्गको कास्की खण्डमा रु २१ करोड ५९ लाख ७८ हजार लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल ( मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा दुई वटा र अत्रपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।