पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुलको पूर्वपट्टि निर्माणकार्य पुनः थालिएको छ।
पुलको डिजाइन र निर्माण दुवै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले आगामी बर्खा लाग्नुअघि काम सक्ने गरी पुनर्निर्माण थालेको जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायले जानकारी दिए।
‘बिल्डर्सलाई अन्तिमपटकका लागि आगामी असारसम्मको म्याद थप गरिएको छ,’ उनले भने, ‘सम्भवतः बर्खा लाग्नुअगावै निर्माण सकिन्छ।’
कमला पुलको पूर्वपट्टि भासिएको दोस्रो पायाको ठाउँमा डिजाइन परिवर्तन स्वीकृत भएपछि गत आर्थिक वर्ष ०८०/८१ मा नयाँ पाया थप गरी दुईवटा पुर्याइएको उनले बताए।
‘त्यसमध्ये एउटाको सुपरस्ट्रक्चरको निर्माण थालनी गरिएको हो,’ उनले भने।
उनका अनुसार कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाको डिजाइन परिवर्तनपछि तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर १२ वटा फलामको बिममा दुईवटा स्ल्याब राखिनेछ।