आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि चार महिनामा देशभर सवारी दुर्घटनाबाट ७ सय ७८ जनाको मृत्यु भयो।
प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०८१ को साउनदेखि कात्तिकसम्म देशभर ७ हजार ४८ वटा सडक दुर्घटना घटे। जसमा २ हजार ६४ जना गम्भीर घाइते भएका छन्।
१० हजार बढी सामान्य घाइते भए। औसतमा एक दिनभित्र ६३ वटा सवारी दुर्घटना हुन्छन्। देशभर प्रत्येक दिन ८८ जना घाइते हुन्छन् भने ७ देखि १० जनाको ज्यान जान्छ। यो संख्या हरेक दिन फरक–फरक हुन्छ।
यस्तै, उपत्यका ट्राफिक कार्यालय बग्गीखानाले दिएको तथ्यांकअनुसार उपत्यकामा मात्रै औसतमा हरेक दिन ४ जनाको मृत्यु हुन्छ। सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ।
उपत्यका ट्राफिक कार्यालयको तथ्यांकअनुसार आव २०८१/८२ को पहिलो पाँच महिनामा काठमाडौंं उपत्यकामा २ हजार ४५ वटा सवारी दुर्घटना भए। जसमा ७५ जनाले ज्यान गुमाए।
दुर्घटनाकै कारण १०० जना गम्भीर घाइते भएका छन्। २ हजार ७ सय ५८ जना सामान्य घाइते भएका छन्। ज्यान गुमाउनेमा ६० जना पुरुष छन् भने १५ जना महिला छन्।
पाँच महिनामा सवारी दुर्घटना भएर मृत्यु हुनेमा सबैभन्दा बढी ३६ वर्षभन्दा माथि उमेर समूहका छन्। ७५ जना मृतकमध्ये ४१ जना ३६ वर्षमाथिका छन्। यस्तै १७ देखि ३५ वर्षभित्रका ३० जना दुर्घटनामा ज्यान गुमाए। ४ जना १६ वर्षमुनिका छन्।
उपत्यका ट्राफिक कार्यालय बग्गीखानाका डीएसपी दीपक गिरीका अनुसार सवारी दुर्घटनामध्ये उपत्यकामा सबैभन्दा बढी दिउँसोको समयमा दुर्घटना हुने गर्छ। दुर्घटनाको तथ्यलाई हेर्दा दुईपाङ्ग्रे सवारीसाधन बढी दुर्घटना हुन्छन्।
दोस्रो नम्बरमा जिप, कार भ्यान, यसपछि बस र माइक्रो दुर्घटनामा पर्छन्।