सकियो पेट्रोलियम ड्रिलिङ

बहुप्रतीक्षित आयोजना पेट्रोलियम अन्वेषणअन्तर्गत अन्वेषणात्मक ड्रिलिङ कार्य पूरा भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम अन्वेषणअन्तर्गतको ड्रिलिङ कार्य ४ हजार २ मिटर गहिराइमा पुगेर सम्पन्न भएको हो।

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गत वैशाख २८ गतेबाट ड्रिलिङ कार्य प्रारम्भ गरिएको थियो।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्टअन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ सुरु गरिएको थियो।

ड्रिलिङ कार्यको गत वैशाख २३ गते संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औपचारिक उद्घाटन गरेका थिए।

खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण आयोजनाका भूगर्भविद् एवं सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार वैशाखदेखि सुरु गरिएको ड्रिलिङ कार्य पूरा भएको हो।

कुल ४ हजार २ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको लुइँटेलले बताए। असोज मसान्तसम्ममा ड्रिलिङ कार्य पूरा गर्ने लक्ष्य लिइएको थियो। तर, कडा चट्टानका कारण पुससम्म लम्बिएको हो।

‘२७ सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो प्राविधिक टोलीले परीक्षण गरेको छ, त्यसबाट प्राप्त भएको विवरणलाई संकलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीनवटा थप अध्ययन हुनेछ’, भूगर्भविद् लुइँटेलले भने, ‘हालसम्मको अध्ययनबाट दैलेखमा प्राकृतिक ग्यास हुनका लागि तय गरेका आवश्यक मापदण्डअन्तर्गतका पर्याप्त आधारहरू प्राप्त भएको छ।’ यहाँ प्राकृतिक ग्यास हुन सक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ।

चिनियाँँ टोलीले हरेक दुई मिटरको ड्रिलिङबाट संकलन गरेको नमुनाको विशिष्ट अध्ययन गर्न चीनमै गर्नुपर्ने भएकाले अन्तिम नतिजाका लागि अझै केही समय लाग्नेछ।

हाल सकिएको अन्वेषणात्मक ड्रिलिङको उद्देश्य नै पेट्रोलियम पदार्थ भए/नभएको अन्वेषण गर्नु हो।

कति परिमाणमा छ भन्ने विषय पत्ता लगाउनका लागि अर्को अध्ययन गर्नुपर्छ।

त्यो काम अहिलेको ड्रिलिङ सकिएपछि गर्नुपर्ने हुन्छ।

ड्रिलिङको अन्तिम नतिजा प्राप्त भएपछि भण्डार क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने बताइएको छ।

दैलेखमा चलिरहेको पेट्रोलियम अन्वेषण परियोजना बहुप्रतीक्षित मात्र होइन, नेपालकै गौरव बढाउने आयोजना पनि हो। यो आयोजना सफल भए देशको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

किनकि यो आयोजनामा सफलता प्राप्त हुने आधारहरू भेटिएका छन्। दैलेखको पञ्चकोशी तीर्थस्थल क्षेत्रमा सदियौंदेखि निरन्तर ज्वाला बलिरहेको छ।

नेपालकै प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान, नाभीस्थान र पादुकामा ज्वाला बलिरहेको छ। यस क्षेत्रमा बग्ने खोलाको पानी माथि पनि आगो बल्छ। अधिकांशले यसलाई दैवी शक्तिको कारण भन्छन्।

खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँँ पेट्रोलियम पदार्थ रहेको पुष्टि हुने आधार उत्तिकै थियो। खानी तथा भूगर्भ विभागले यहाँ विगत चार दशकयता सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *