उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर

उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर: हराभरा र सुन्दर गाउँबस्ती दक्षिण ललितपुर गोटीखेलको पहिचान थियो ।

तर, अहिले स्वरूप नै बिग्रिएको छ । बस्ती र खेतका गरा बगरमा बदलिएका छन् ।

कच्ची सडकको नामोनिसाना छैन भने चहलपहल भइरहने गोटीखेल बजार सुनसान छ ।

असोजको दोस्रो साता आएको बाढीपछि महाँकाल गाउँपालिकाको विकसित क्षेत्र गोटिखेलको दृश्य यस्तै छ ।

बाढीले उठिबास भएकाहरू थातथलो छाडेर अन्यन्त्रै आश्रय लिन पुगेका छन् ।

महांकाल गाउँपालिकाका अनुसार ११ असोजमा धामी, बोल्बे र टुंगुन खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पालिकाका दुई सय घरमा क्षति भएको थियो ।

नौ स्थानीय व्यक्तिसहित दुई सयभन्दा बढी पशु चौपाया बाढीले बगायो भने पाँच सय रोपनीमा लगाएको धानबाली ध्वस्त बनायो ।

गोटिखेल क्षेत्रमा मात्रै तीन पक्कीसहित १० घर बाढीले बगाएको पालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए ।

‘बाढीले पारेको क्षतिको समाधान पालिका एक्लैले गर्न सक्दैन, सबै बाटा पुरिएका छन्, गाउँबस्ती नै तहसनहस भएको छ, स्थानीयवासीको पुनर्वास गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारबाट आएको अनुदान तथा बजेटका आधारमा हामीले क्षतिको समाधान गछौंँ ।’

बाढीपछि तत्कालका लागि केन्द्र सरकारबाट एक करोड र प्रदेश सरकारबाट १५ लाख बजेट पालिकालाई आए पनि उक्त रकमले सरकारी संरचनामा पुगेको क्षतिसमेत समाधान गर्न नपुग्ने केसीको भनाइ छ ।

गाउँपालिकाको जम्मा बजेट पाँच करोड हाराहारी हो भने विपत् व्यवस्थापनमा १५ लाख रुपैयाँ छुट्याइएको थियो ।

तर, सोचेभन्दा ठुलो क्षति भएकाले समाधान गर्न बजेट नभएको पालिका प्रमुख केसीले बताए । महांकाल गाउँपालिकाका दुई सय हाराहारी घरमा पूर्ण क्षति भएको छ ।

दुई सय परिवारलाई पुनर्वासको खाँचो छ । तर, पालिकाले पुनर्वासको व्यवस्था गर्न सक्ने अवस्था नभएको पालिकाले जनाएको छ ।

बाढीले घरबारी बगाएपछि स्थानीयवासी आफन्त तथा छिमेकीकहाँ बसोबास गरिरहेको गोटिखेलका कमल तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार गोटिखेलमा आएको बाढीपहिरोले पक्की घरसमेत बगाएको थियो ।

‘मेरो दाइ, माइलो बुबालगायतको घर बाढीले बगायो, परिवारका तीनजनालाई गुमाउनुर्‍यो,’ उनले भने, ‘बाढीपछि खानेपानीको समस्या बढेको छ, बाटाघाटा पनि बिग्रिएका छन्, खेतीपाती गर्ने मलिला खेतबारी बगर बनेका छन् ।’

उनका अनुसार पीडितहरू आफन्तको घरमा बसेका छन् । कतिपय चापागाउँ तथा भैँसेपाटी क्षेत्रमा भाडामा बस्न थालेका छन् ।

ठुलो प्राकृतिक विपत्तिको चपेटामा परेको गोटीखेल तत्काल उठ्ने अवस्थामा देखिँदैन ।

यहाँ बाढी नपसेको र क्षति नपुगेको कुनै घर छैन । सामान्य क्षतिदेखि ठुलो क्षतिसम्म व्यहोरेका स्थानीयहरू बाढीपहिरोले पारेको क्षतिबाट कसरी उम्कने भन्ने चिन्तामा छन् ।

बाढीपछि महांकाल– २ मा पर्ने ठोस्ने खोला बस्ती पुनर्वास गर्नुपर्ने अवस्था छ । त्यस्तै, वैतरणी–धाम क्षेत्रका घरहरू पनि बस्न सक्ने अवस्थामा छैनन् ।

पालिकाले जोखिम अवस्थामा रहेका घर र स्थानीयलाई आश्रयको लागि अन्य ठाउँ खोज्ने बताएको छ ।

त्यस्तै, टुंगुन खोलामा आएको बाढीले आसपासका घरहरूमा क्षति पुर्‍याएको थियो ।

यो खोला बगुवाबाट बागमती नदीमा मिसिन्छ । त्यस्तै, महांकाल– ६ को ठुलोदुर्लुङमा पनि ९ घर पहिराले बगाएको थियो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *