सडक सुरक्षाका लागि विश्व समुदायसँग सहयोगको आग्रह: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको सडक पूर्वाधार र सडक सुरक्षाका लागि विश्व समुदायसँग सहयोगको आग्रह गरेका छन् ।
साउदी अरबको राजधानी रियादमा जारी सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको मन्त्रीस्तरीय सत्रमा मन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनका कारणले सडक पूर्वाधारमा व्यापक क्षति पुग्ने गरेकाले प्रविधि र दिगो सडक सुरक्षामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।
मन्त्री दाहालले नेपालमा सडक दुर्घटनामा बर्सेनि करिब दुई हजार चार सयजनाको ज्यान गइरहेको जानकारी गराउँदै सडक पूर्वाधारको स्तरोन्नति र सुरक्षामा लगानी भएमा दुघटना न्यूनीकरण हुने उल्लेख गरे।
सडक दुघटनामा मृत्यु हुनेको संख्या उच्च रहेकाले यसमा सुधार गर्न नेपालमा विभिन्न नीतिगत निर्णय, संस्थागत संरचनामा सुधार निर्माण गरेको भन्दै मन्त्री दाहालले भने, ‘सडक सुरक्षा बहुपक्षीय विषय हो।
यसमा सबैको सहकार्य चाहिन्छ।’ ‘सडक पूर्वाधारको अवस्थामा सुधार ल्याउने, भेइकल फिटनेस टेस्ट गर्ने, ड्रिंक र ड्राइभमा रोक लगाउने काम भएको छ,’ सम्मेलनमा उनले भने, ‘नेपालले आफ्नो क्षमताले भ्याएसम्म काम गर्दै छ ।
सडक पूर्वाधार र सुरक्षामा विश्व समुदायको सहयोगको आवश्यकता छ ।’
Visit homepage : eautonepal.com