जीडब्लूएमका ओरा ५ र हाभल एच७ लाई सुरक्षामा ५ स्टार

काठमाडौं । चिनियाँ सवारी निर्माता ग्रेट वाल मोटर (जीडब्लूएम) का दुई नयाँ मोडलले अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा उच्चतम अंक प्राप्त गरेका छन्। कम्पनीका ओरा ५ र हाभल एच७ ले सन् २०२६ को युरो एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ हासिल गरेका हुन्।

युरोपेली नयाँ कार मूल्यांकन कार्यक्रम (युरो एनक्याप) ले सवारीसाधनको सुरक्षालाई विभिन्न मापदण्डका आधारमा परीक्षण गर्दै आएको छ। यसअन्तर्गत दुर्घटनाका बेला चालक तथा यात्रुको सुरक्षा, जोखिम न्यूनीकरण, दुर्घटनापछिको उद्धार व्यवस्था र चालक सहायता प्रविधिको प्रभावकारितालाई मूल्यांकन गरिन्छ।

ओरा ५ ले परीक्षणका चारवटै विधामा राम्रो नतिजा देखाएको जीडब्लूएमले जनाएको छ। विशेषगरी यात्रुको सुरक्षासँगै दुर्घटनापछि अपनाइने सुरक्षा व्यवस्थामा यसले उल्लेखनीय प्रदर्शन गरेको कम्पनीको दाबी छ।

विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्रीको सुरक्षालाई ध्यानमा राखेर ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली राखिएको छ। यसमा रहेको डायु ब्याट्री सेफ्टी टेक्नोलोजीले सम्भावित जोखिमबाट ब्याट्रीलाई सुरक्षित राख्न सहयोग गर्ने बताइएको छ।

यसका अतिरिक्त गाडीमा उपलब्ध म्यानुअल कन्ट्रोल प्रणालीले कम्फर्ट तथा इन्फोटेनमेन्ट सञ्चालनसम्बन्धी परीक्षणमा पूर्ण अंक पाएको छ। स्पिड असिस्टेन्स प्रणालीले पनि प्रभावकारी नतिजा देखाएको कम्पनीले उल्लेख गरेको छ।

ओरा ५ मा उपलब्ध एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), मजबुत बडी स्ट्रक्चर तथा अन्य सुरक्षा सुविधाले यसको समग्र सुरक्षा क्षमतामा योगदान पुर्‍याएका छन्। यसअघि पनि जीडब्लूएमका सवारीसाधनले अस्ट्रेलियन एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरिसकेका छन्।

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले यी दुई मोडलले पाएको अन्तर्राष्ट्रिय मान्यताले नेपाली ग्राहकबीच ब्रान्डको विश्वसनीयता बढाउने विश्वास व्यक्त गरेको छ। कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रविधि, सुरक्षा सुविधा र आरामदायी विशेषतासहितका सवारीसाधन बिक्री गर्दै आएको छ।

३५ वर्षभन्दा लामो इतिहास भएको जीडब्लूएम अहिले विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा विस्तार भइसकेको छ। कम्पनीका अनुसार विश्वभर यसका सवारीसाधनको बिक्री संख्या १ करोड नाघिसकेको छ। विद्युतीय तथा स्मार्ट मोबिलिटी क्षेत्रमा लगानी बढाउँदै आएको कम्पनीले सवारी सुरक्षालाई पनि आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *