धरहरा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने

धरहरा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने: सरकारले धरहरा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने गरी सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि तयार पारेको छ ।

तर, कार्यविधिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भने भइसकेको छैन ।

काठमाडौं महानगरपालिकाले धरहरा सञ्चालन गर्न माग गर्दै आए पनि संघीय सरकारले बेवास्ता गरेको छ ।

सहरी विकास मन्त्रालयले बनाएको धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार मन्त्रालयमातहत रहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई धरहराको जिम्मा दिइनेछ ।

त्यसपछि केन्द्रले ठेक्कामार्फत निजी क्षेत्रलाई धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा दिने तयारी छ ।

मन्त्रालयका सचिव मणिराम गेलालले केन्द्रलाई धरहरा सञ्चालनको जिम्मा दिन प्रस्ताव गरिए पनि अहिलेसम्म निर्णय भइनसकेको बताए ।

‘हामीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई धरहरा चलाउन दिने प्रस्ताव गरेका छौँ,’ सचिव गेलालले भने, ‘धरहरा सञ्चालन र व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्मा लगिएको छ ।

तर, अहिलेसम्म कुनै पनि निर्णय भएको आएजस्तो निजी क्षेत्रलाई दिन लागेको होइन ।’ ३ असोजमा संविधान दिवसको अवसरमा धरहरा सञ्चालनमा आएको थियो ।

निर्माण सम्पन्न नहुँदै ओलीले तीन वर्षअघि नै धरहरा उद्घाटन गरेका थिए । एक महिनाअघि मात्र धरहरा सञ्चालनमा आए पनि धरहरा क्षेत्रभित्रको केही काम भने अझै बाँकी नै छ ।

महानगरपालिकाभित्र भएको धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा आफूहरूले पाउनुपर्ने भन्दै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले पटक–पटक आग्रह गरेका थिए ।

प्रमुख बालेनले ५ भदौमा मन्त्री प्रकाशमान सिंहलाई भेटेर धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा दिनका लागि माग गरेका थिए ।

काठमाडौंका प्रमुख बालेनको प्रहार खेपिरहेका प्रधानमन्त्री केपी ओली भने धरहरा संघीय सरकारले नै चलाउनुपर्ने पक्षमा छन् ।

महानगरले गत वर्ष नै दसैँ तिहारमा न्युरोड क्षेत्रमा हुने अत्यधिक भिडभाडलाई मध्यनजर गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।

महानगरले विनास्वीकृति पार्किङ सञ्चालन गरेकोमा सहरी विकास मन्त्रालय असन्तुष्ट थियो । त्यही समयबाट संघ र महानगर आमने–सामने हुन थालेका थिए ।

महानगरपालिकाले धरहराको भूमिगत पार्किङमा निःशुल्क व्यवस्था गरिरहेको भए पनि प्रधानमन्त्री ओलीले धरहरालाई आम्दानीको स्रोत बनाउन पार्किङ निःशुल्क गर्न नहुने बताएका थिए ।

‘धरहराको पार्किङ कुनै पालिका विशेषको होइन, धरहरा त मेरो परिकल्पनामा डिजाइन भएको हो । मेरो परिकल्पनाअनुसार नै जग्गा अधिग्रहणदेखि सबै काम भएको हो ।

त्यसैले अब धरहरालाई आम्दानीको स्रोत बनाउन सकिन्छ । मान्छेलाई मनोरञ्जन पनि हुन्छ ।

आम्दानी पनि हुन्छ,’ गत साउन १५ गते मन्त्री तथा सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *