१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क: सरकारले आगामी १ मंसिरदेखि सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ ।
आइतबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबाट क्यान्सरको निःशुल्क सेवा दिने निर्णय गरेको हो ।
तत्कालका लागि विपन्न नागरिक औषधि उपचारबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ र बाँकी खर्च मन्त्रालयको आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सेवा सुचारु गरिने मन्त्रालयले जनाएको छ ।
‘हाल बालबालिकाको क्यान्सरमा सम्पूर्ण सेवा दिइरहेका केही अस्पतालबाट निःशुल्क सेवा सुरु गरिएको हो ।
प्रभावित बालबालिका र उपचारमा लाग्ने खर्चको आकलन गरेर तत्कालका लागि विपन्न औषधि उपचार कोष र अपुग भएमा मन्त्रालयले खर्च व्यहोर्ने निर्णय भएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
आगामी डिसेम्बरदेखि चार वर्षका लागि बालबालिकाको क्यान्सरको औषधि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत आउने भएकाले समेत उपचारमा सहज हुने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले गत १४ चैतमा सेन्ट जुड ग्लोबल र डब्लुएचओको पहलमा बालबालिकाको क्यान्सर औषधिको पहुँच बढाउन ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिनसँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।
क्यान्सरको उपचार खर्च व्यहोर्न नसकेर उपचारबाट वञ्चित भइरहेका बालबालिकालाई उपचारको पहुँचमा ल्याउन निःशुल्क सेवा सुचारु गरिएको स्वास्थ्यमन्त्री पौडेलले बताए ।
उनले आफूले पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेको जानकारी दिए ।
‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ,’ पौडेलले भने, ‘तर, आर्थिक अभावमा कोही पनि परीक्षण र उपचारबाट वञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौँ ।’
Visit homepage : eautonepal.com